Shittalpati
जातजाति, लिङ्ग र सामाजिक व्यवहार

रुकुम घटनालाई नजिकबाट नियालेर हेर्ने हो भने यो अरुको चासोको विषय नै हैन झैं गरेर विभिन्न जातिय संगठनका मात्र दवाबमूलक कार्यक्रमहरु देख्न सकिन्छ । यो घटना त केवल बाहिर निस्केको घटना हो । यहाँ यस्ता धेरै घटनाहरु छन्, जुन आफै बिलिन भएर गएका छन् । कुनै घटना कारण बिना नै समाप्त भएका पनि छन् । रुकुम घटना घट्यो यो ज्यादै दर्दनाक र क्रुरतापूर्वक भएको घटना हो । रगत, जात, धर्म, आर्थिक स्थिति र राजनीतिक विचारका आधारमा नभई वास्तविकताको आधारमा न्याय निरुपण हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन् । न्याय पाउनु भनेको भोलिको लागि नजिर हो । परिवारमा सुरक्षाको महशुस हुने कुरा हो र आत्माले पनि शान्ति पाउने कुरा हो । आज यो नरसंहारले हाम्रो सामाजिक अवस्था कहाँ रहेछ भनेर देखाएको मात्र छैन् एक्काइसौं शताब्दीले नेपालको पुरातन सभ्यतालाई गिज्याई रहेको छ । यसर्थ जातजाति, लिङ्ग र हाम्रो सामाजिक व्यवहारका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

केही दिन अघि मात्र सुस्मिता केसीलाई श्रीमानको मृत्युपछि आफै ससुराले यौनजन्य घटना घटाउने प्रयाससँगै पारिवारिक मिलेमतोमा कायरतापूर्व हत्या गरियो । ४ जनाले कारागार सजाय त भोगे तर पतिको मृत्युको दोष, पैसाको रिसिभिका कारण विना कारण मृत्युवरण गर्न प¥यो । प्रेम र विवाह के को लागि हो ? आखिर खुशी साथ जिन्दगी जिउनको लागि होइन र किन आखिर जातको आधारमा विभेद गरिन्छ र ति खुशी मन भाचिन्छ यसलाई राम्रोसगँ विश्लेषण गर्न जरुरी हुन्छ । मान्छेको स्वभाव र विचारको आधारमा विभेद गर्नुपर्नेमा हाम्रो समाज उल्टोबाट हिडिरहेको छ । तथापी केही कुराहरु साधुरिएका पनि छन् । एकैपटक बोल्दैमा, कानुन बनाउँदैमा परिवर्तन हुँदैन यो त निरन्तर प्रयास सर्घष र आपसी समझदारीबाट हुने हुन्छ । एक जातिले अर्को जातिको विवाह गरे अस्वीकृत जीवन जिउन बाध्य भएका धेरै वैवाहिक जोडी भेटिन्छ टोल बस्तीहरुमा । तर उनीहरुले न्याय पाइरहेका छैनन् । सामाजिक न्याय त धेरै परको कुरा भएको छ । पीडितले पाएको न्याय र पिडकले पाएको सजाय नै राहतको अनुभूति गर्ने आधार हो । जातिगत वैवाहिक जीवन सधैँ भरिका लागि अपहेलित जीवन जिउने कारण बन्दछ । नबराज बिक र सुस्मिता मल्ल बिचको प्रेम सम्वन्ध जातिगत रुपमा परिणत भई अन्तमा पिडादायी घटनामा अन्त भयो । सायद सुस्मितालाई पनि थाहा थियो होला यो सम्बन्धले सामाजिक रुपमा आफुलाई अपठ्यारो पार्छ भनेर । उनको उमेरको हिसावले त्यो सोंच्ने क्षमता नहुन पनि सक्छ । तर प्रेममा कुनै चिजले रोक्न सक्दैन । माथिल्लो जातको केटीको तल्लो जातको केटासँगको प्रेम हुनु र त्यसले बैवाहिक रुप लिदा केटाको घरमा सजिलै स्वीकार्ने हुन्छ भने केटीको घर पट्टि जिन्दगी भरी आवत–जावत नभएको घटनाहरु हाम्रो समाजमा छताछुल्ल देखिन सक्छ । ज्वाईले ससुराल टेकेको नहुँदै, जन्मेको बच्चाले मावल भन्ने शब्द नै थाहा हुँदैन । बच्चाको तोते बोलीमा मामा मामा भन्ने शब्द मात्र आउछ । त्यतिबेला त्यो आमालाई कस्तो पीडा महशुस हुन्छ होला । पुरुषत्वको सोंच र व्यवहार यहाँ निर झन देखिन्छ । माईतको आमा दिदी बहिनी, रुचाउने भाउजुले बेला–बेला अरुले थाहा नपाउने गरी फोन गरेका हुन्छन् भने उसको कुरा मात्र घरमा उठेमा बुवा, दाईभाईले त झन जिउँदै जलाउलान् झैं गर्छन् ।

अर्को सम्बन्ध तल्लो जातको केटी माथिल्लो जातको केटासंग प्रेम र वैवाहिक सम्बन्धमा पर्दा झन सामाजिक मानसिक रुपमा बहिस्कृत हुन पर्ने अवस्था हुन्छ । केटाकेटी घरबाट बहिस्कृत हुन पर्दछ । केटाको घरमा हुने हरेक क्रियाकलापमा उनीहरुलाई समावेश गरिदैन । विशेष गरी महिलालाई एक त अर्काको घरमा विवाह गरी आउनु छ, अर्को उसलाई यस्तो बहिस्कृत भएको पीडा सहनु पर्दछ । केटालाई सामाजिक रुपमा काम गर्न भने सामान्य स्वीकृति दिइन्छ तर महिलालाई घर लगायत सामाजिक रुपमा नै बन्देज लगाइन्छ । अझ यसको पिडा चाडपर्व, सामाज्ािक रीति जस्तै पुजाआजा र क्रिया गर्न पर्दा त झन महिलालाई अपहेलित नै गर्ने गरिन्छ । आर्थिक रुपमा कमजोर भएका केटी र केटाले विवाह गरेको खण्डमा आर्थिक मानसिक कमजोर भएका परिवारले यति पीडा दिन्छन् कि ति महिला न घर बस्न सक्छिन् न परिवार छोडेर अलग बस्न सक्छिन । घटना यस्तो पनि हुन्छ कि कहिले काही उनीहरु आत्महत्याको अवस्थासम्म पुग्छन् । कोहि कोहि हत्याको सिकारसम्म बन्न पुग्छन् । दिनँहु शारीरिक तथा मानसिक रुपमा पिडित हुनु महिलाको दिन चर्या नै हुन्छ । त्यसैले सामाजिक रुपमा रहेको जातिय, लैगिक तथा आर्थिक भेदभाव र ब्यवहारहरु हाम्रो समाजबाट नहटेसम्म हामी सभ्य नेपाली हौं भन्न सक्ने अवस्था छैन । नेपालमा यस्तो अवस्थामा जातिगत, लैङ्गिक आधारमा भेदभाव र हिंसाको लागि कानुनहरु बनेका छन् तर यि सबै नितिनियम र कानुन घटना घटेपछि मात्र छलफल हुन्छ र बहसको विषयमा ल्याइन्छ । नकारात्मक असर परिसकेपछि पाउने न्यायले सान्त्वना मात्र दिन्छ तर पीडितलाई जीवनभर सामाजिक, आर्थिक, मानसिक असर पारेको हुन्छ । त्यस परिवारमा समग्रमा एउटा शून्यता छाएको हुन्छ । यि सबै असरको दोष आखिरमा महिलाले सहन बाध्य हुन्छिन् । भित्तामा झुण्डाएर राखेको माला सहितको फोटोलाई सम्झेर जीवन कटाउनु पारिवारिक बोझ एक्लै बहन गर्नु उनको दैनिक जीवनचक्र बन्दछ । घटना घटिसकेपछि न्यायको कुरामा झन अझ बढी पीडा सहनु पर्दछ । लिङ्गको आधारमा, जातको आधारमा, धर्मको आधारमा, आर्थिक स्थितिको आधारमा, राजनैतिक आस्थाका आधारमा न्यायको स्वरुप नै परिवर्तन हुन्छ । राज्यका लागि सबै नागरिक हेर्ने र उसप्रति गर्नुपर्ने व्यवहार समान हुनु पर्ने हुन्छ तर धेरै पीडितले न्याय नपाएको गुनासोहरु धेरै सुन्न पाइएको छ । समस्या, घटना र न्यायका आधारमा मानसिक समस्या, आत्महत्या प्रयास गर्नु, आत्महत्या बढनु एउटा कारण हुन सक्छ । सत्य सत्य नै हुन्छ चाहे जुनसुकै विभेदको रङ्ग दिएता पनि । चर्को भाषण, आदर्शका कुरा, आम्दानीको स्रोत, व्यक्तिगत स्वार्थ भएकाहरुको लागि यो नयाँ –नयाँ स्वार्थका विषय र नाफामूखी पनि बन्न सक्छ । द्वन्द्व सिर्जना गर्ने र बहसको विषय मात्र बनाएर हुँदैन ।

राज्यको भूमिका समिति गठन मात्र सत्यतथ्य बाहिर ल्याउने मात्र कि भावी योजना बनाउने । परिवर्तन कानुन बनाएर मात्र सम्भव हुँदैन ति संक्रिण मनहरुलाई परिवर्तन गर्न जरुरी हुन्छ । सरकार, प्रदेश, स्थानीय, वडा र टोल सम्ममा विभिन्न सक्रिय समूहहरु छन् तर खै त अहिलेसम्म सोचे जस्तो परिवर्तन हुन सकेको ? विभिन्न तालिम, गोष्ठी, अनुदान वितरण गरेको देख्न सकिन्छ केवल वर्षको एक दुई पटक अनि वर्षभरिलाई यस्ता मुद्दा हराएर जान्छ । महिला हिंसा विरुद्धको अभियान, महिला दिवस, जातिय दिवस केवल एक दिनका लागि मात्र नभएर जागरण अभियान निरन्तर चलाउन आवश्यक हुन्छ । आर्थिक खर्च गरेर कार्यक्रम गर्दैमा सबै काम सफल हुँदैन ति त गरिएका कामका आधारमा र लाभान्वित ठाउँसम्म पुग्यो कि पुगेन भन्नेमा मुल्याङकन गर्न सकिन्छ । बालबिवाह अपेक्षित रुपमा घटन सकेको छैन जसले शिक्षाको बिचैमा छोड्ने दर बढेको छ । अशिक्षाका कारण ति सबै जातिगत, लैङ्गिक, आर्थिक र राजनैतिक एक आपसमा द्वन्द्व देखिन्छ । यस्तो अवस्थामा सम्रगमा राज्यले लिने योजनाका साथ साथै सबै पालिकाहरुले आफनो क्षेत्रको सामाजिक, जातिय, लैङ्गिक भूमिका आदीको सुक्ष्म विश्लेषण योजना बनाएर काम गर्न सकेमा यस्ता घटनामा कमि हुन सक्छ ।
(लेखक पछौटेपन उन्मूलन समाज (बेस) नेपालका फिल्ड कोडिनेटर समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update