Shittalpati
खुकुलो लकडाउन र सावधानी

लामो समयको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र आम नागरिक समस्यामा पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । सरकारले दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउनको स्वरुप परिवर्तन गर्नु आफैमा उत्साजनका रुपमा लिनु पर्दछ । लकडाउन खुकुलो गरेसँगै उद्योगी व्यवसायीहरुले राहत महशुस गरेका छन् । आम नागरिक, उद्योग व्यवसायीहरूले राहत महशुस गर्नु स्वभाविक पनि छ । जसले गर्दा गरिखाने मजदुरहरूलाई पनि केही राहत मिल्ने अपेक्षा गरिएको छ भने अर्थतन्त्र पनि केही रूपमा भए पनि चलायमान हुने देखिन्छ । लकडाउन खुकुलो बनाएसँगै सरकारले जारी गरेको घरबाहिर हिँड्दा अनिवार्य मास्क लगाउनुपर्ने तथा २ मिटरको सामाजिक भौतिक दूरी कायम गर्ने निर्देशन अनुसरण गरेको देखिएन । कतै आममानिसमा कोरोना संक्रमणको डर, त्रास, भय हटेको त होइन भन्ने तर्कहरू व्यक्त गरिएका छन् । व्यापारीहरू पनि सुरक्षा सावधानीका उपायहरू अवलम्वन गरेको देखिँदैन । यस प्रकार हामीले स्वास्थ्य सतर्कताप्रति गम्भीर भएनौं भने हामीले संयमित, धैर्यताका साथ ८० दिनसम्म पालना गरेको लकडाउनको महत्व खेर जाने देखिन्छ । यस्तै क्रमले असुरक्षित भीडभाड बढ्दै गयो भने नेपालमा कोरोना संक्रमण दर भयावह अवस्थामा नजाला भन्न सकिदैन ।

अनावश्यक रुपमा अस्पताल लगायतका स्वास्थ्य संस्था जाने काम नगरौं । अति आवश्यक परेमात्रै अस्पताल जाने गरौं । अस्पताल भनेको निकै जोखिम स्थल हो । त्यहाँ धेरै प्रकारका बिरामीको उपचार भइरहेको हुन्छ । अहिलेको चुनौती भनेको लकडाउन नगरेर नै कोरोनासँग कसरी लड्न सकिन्छ भन्ने हो । कोरोना संक्रमण १/२ हप्ता र १/२ महिनामा नै सकिने अवस्था छैन । किनभने रोगको प्रकृति नै धेरै लामो समयसम्म रहने खालको छ । धेरै लामो समयसम्म यो रोग सँगसँगै जानुपर्ने हुन सक्छ । तर सधैँभरि लकडाउन मात्रै गरेर पनि समस्याको समाधान हुनेवाला छैन । हामी सबैले आ–आफ्नो क्षेत्रबाट कोरोनासँग कसरी सँग–सँगै जान सकिन्छ, हाम्रा व्यवहार कसरी परिवर्तन गर्न सकिन्छ भन्ने सोच्नुपर्छ । यी कुरामा विशेष ध्यान दिन सकियो भने कोरोनामाथि विजय प्राप्त गर्न सकिन्छ । लकडाउन खुकुलो भएसँगै आमनागरिक, उद्योग–व्यवसायी सबैले पर्याप्त स्वास्थ्य सतर्कता तथा सावधानी अपनाउनुपर्ने हुन्छ । नेपालमा संक्रमितको संख्या यही रफ्तारमा बढ्दै गयो भने राज्यले व्यवस्थापन गर्ने समेत स्थिति देखिँदैन । तसर्थ सबैले आ–आफ्नो तवरमा स्वास्थ्य सतर्कता
अपनाउनु जरुरी देखिन्छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update