Shittalpati
सलह नियन्त्रण र पूर्व तयारी

नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसंगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । फट्यांग्रा जातिको यो किरा नेपालका विभिन्न जिल्लाहरुमा फैलिसकेको छ । शनिबारदेखि पाल्पाका विभिन्न ठाउँहरुमा समेत सलहले क्षति पुर्‍याउन थालेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदै गर्दा यही खतरनाक किरा सलहले नेपालको कृषिलाई चौपट पार्न सक्ने देखिएको छ । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश चुनौतीका रुपमा रहने देखिन्छ । विशेष गरी यस किराले गहुँ, तोरी, कपास, मकै, मसला लगायत अन्य बालिलाई हानी पार्ने गर्दछ । कृषि बालीमा क्षति पुर्‍याउने किराको तुलना गर्दा सलह जातिको खतरनाक अरू किरा छैनन् । यसले घाँसदेखि सबै प्रकारका हरियो बाली खाने गर्छ । एउटा बालीलाई शत प्रतिशत नष्ट गरेर मात्र अर्को बालीमा प्रवेश गर्छ । यो किरा ठूलो फौज बनाएर हिंड्छ, तर नेपालमा ठूलो फौज बनाएर आएको देखिँदैन ।

भारतमा आएको ठूलो हावाका कारण फौजमा रहेका किरा छुट्टिएर नेपाल आएको हुन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । यो किरा दिनभरि उड्ने र खाने अनि रात परेपछि बस्ने हो । बिहान भएपछि पुनः बालीमा बसेर खान थालिहाल्छ । किरा भित्रिएपछि नियन्त्रणका लागि योजना बनाउने, गृहकार्य गर्ने, विभिन्न निकायमा बैठक बस्ने गर्नु हुँदैन । तुरुन्तै विषादी हालेर नियन्त्रण गरिहाल्नुपर्छ । किरा आउने बित्तिकै बसेको ठाउँमा विषादी स्प्रे गरिहाल्नुपर्छ । मन्त्रालयले रोग नियन्त्रणका लागि योजना पनि बनाएको थियो, तर अहिलेसम्म कार्यान्वयन भएको छैन । केही समय अघि भारतको उत्तरी क्षेत्रमा फैलिएको सलह नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट छिरी सकेको छ । यसका लागि पूर्व तयारी गर्नुपर्ने थियो तर सरकारी तवरबाट त्यसो हुन सकेन । जसले गर्दा अहिले यसले ठूलो रुप लिने देखिन्छ । प्रदेशमा सलह भित्रिएसँगै कृषि बालीमा क्षति हुन नदिन प्रदेश–५ सरकारले भने नियन्त्रणका लागि केही आवश्यक तयारी थालेको छ । यो अत्यन्तै सकारात्मक छ । प्रदेश सरकारले किसानलाई सचेत गराउनेदेखि विषादी छर्नेसम्मका कुरालाई प्राथमिकतामा राखेको छरु। यसलाई नियन्त्रणमा लिएर बुझाउनेलाई सम्बन्धित वडा कार्यालयबाट प्रतिकिलो २० रुपैयाँ दिने प्रदेश सरकारको तयारी छ । यस्तो कार्य अन्य तहका सरकारहरुले पनि गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update