Shittalpati
धान दिवसको सार्थकता

 नेपालको धानखेती आकाशे सिंचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । धानको उत्पादन बढाउने उद्देश्य अनुरुप नै नेपालमा धान दिवस मनाउने गरिन्छ ।

खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान दिवस मनाउनु राम्रो कुरा हो । यद्यपि धान दिवसको बेला खेतमा टेक्दैमा दिवसले सार्थकता पाउँदैन । वास्तविक किसानले जब सम्म दिवसको महत्व बुज्दैनन् तबसम्म दिवस केवल मनोरञ्जनका लागि मात्र हुनेछ । वर्षभरी खेत नटेक्ने तर दिवसको बेला के के नै काम गरे जसरी हिलाम्य हुने प्रथाले समग्र दिवसलाई मनोरञ्जनको माध्यम बनाएको छ । आधुनिकताको प्रभावसँगै खेती गर्ने प्रथा हराउन थालेको छ । खेतीयोग्य जमिनमा प्लटिङ गरिएको छ । काम गरेर खाने जाँगर मरेको छ । विदेशको चामलमा हाम्रो नजर परेको छ । खेती गर्ने किसानलाई तल्लो दर्जाको नागरिक ठानिन्छ । कसरी धानको उत्पादनमा वृद्धि होला ? यति मात्रै होइन सरकार पनि उतिकै जिम्मेवार देखिन्छ । खेती गर्ने किसानलाई सरकारले सहुलियत ऋण, मेसेनरी औचार, मलखाद समयमा दिन सकेको छैन । त्यसले पनि किसानको खेती प्रतिको रुचि बढेको छैन । किसानका लागि बेला–बेला दिने भनेका अनुदानहरु विचौलियाले स्वाम पारेको उदाहरण पनि प्रशस्तै छन् । धानबालीका लागि प्रयाप्त पानीको सुविधा हुनुपर्छ । पहिले पहिले जेठ अन्तिम सातादेखि पर्न थालेको वर्षा भदौसम्म चल्थ्यो । तर अहिले त्यो स्थिती छैन । जसले गर्दा धानबालीलाई असर गरेको छ । तसर्थ प्रमुख खाद्यन्नबालीको रुपमा रहेको धानखेतीको उत्पादनमा वृद्धि हुने खालको सरकारले पनि योजना बनाउनु पर्छ । तब मात्र धान दिवसले सार्थकता पाउँनेछ ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update