Shittalpati
कोरोना महामारीले सिकाएको पाठ

शैलेन्द्र भट्टराई
रामपुर, पाल्पा
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । छिमेकी राष्ट्र चीनबाट फैलिएको महामारी अहिले चीनमा अलिक मथ्थर देखिए पनि अन्य देशहरुमा तिब्र रुपमा फैलिएको छ । अर्को छिमेकी राष्ट्र भारतमा सुरुवाती अवस्थामा त्यति उग्ररुप नलिएता पनि आजसम्म आउँदा भारतमा अवस्था बिग्रदो छ । नेपालमा पनि संक्रमितको संख्या बढ्ने दर दिनानुदिन वृद्धि हुँदै आएको छ । जस्ले महामारीको रुप लिने खतरा बढ्न थालेको छ । भारतमा अवस्था बिग्रदै जानु र साथमा खुल्ला सिमानाका कारण भारतमा रहेका नेपालीहरु लुकीछिपी भागेर नेपाल आउने गरेका छन् । नेपाली मात्रै होइन भारतीयहरु पनि नेपालमा केही सुरक्षित महशुस गरेर होला सायद लुकिछिपी आउने गरेका छन् ।

नेपालका अधिकांश संक्रमित भारतबाट लुकिछिपी आउनेहरु नै छन् । नेपालमा बन्दाबन्दी भएको पनि २ महिना पुग्न लागेको छ । चैत र बैशाख महिनाको लकडाउनलाई त्यति प्रभावकारी बनाउन नसक्दा अहिले अवस्था बिग्रदै जाने खतरा बढेको छ । खुल्ला सिमानाका कारण लुकिछिपी आउनेहरु बाटै पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको छ । यदि तत्कालै ठोस नीतिका साथ केही गरिएन भने नेपालको हालत सम्हाली नसक्नु हुने निश्चित छ । विकसित मुलुकलाई समेत आछु–आछु पारिरहेको अवस्थामा नेपाल जस्तो विकासोन्मूख मुलुकमा यसले पूर्ण रुपमा महामारीको रुप लिन थाल्यो भने के हुन्छ ? त्यो कल्पना समेत गर्न सकिँदैन । त्यसैले यसलाई तिब्र रुपमा फैलन नदिन तत्काल आवश्यक कदम चालिनु जरुरी छ ।

पछिल्लो समय भारतबाट कयौं नेपालीलाई भारतले नेपाली सिमाना ल्याउँदै छोडेको छ । त्यस्तै वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरु काम नपाउँदा करिब ६ लाख स्वदेश फर्कन चाहिरहेको अवस्था छ । यसका लागि सरकारको तयारी के छ ? सायद सरकारले यस सम्बन्धमा सोच्न समेत भ्याएको छैन । उनीहरुलाई सम्बन्धित देशले निःशुल्क आफ्नै जहाजमा फिर्ता पठाइदिन्छु भनिरहेको अवस्थामा पनि नेपाल सरकारले केहि कदम नचालिरहेको अवस्था छ । अझ कति देशले त भटाभट नेपाली कामदारलाई आफ्नै खर्चमा आफ्नै जहाजमा नेपाल ल्याउँदै छोड्न थालेका छन् । विडम्बना विदेशमा रहेका नेपालीले पठाएको रेमिटान्सले देश धानिरहेको अवस्थामा उनीहरुप्रति सरकारको यस प्रकारको उपेक्षा किन ? के उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याएर व्यवस्थापन गर्नु सरकारको दायित्व होइन ? तर यो कार्य सरकारको लागि कम चुनैतीपूर्ण भने छैन ।

यस्तो अवस्थामा स्वदेश फर्कन चहानेलाई तत्काल नेपाल फिर्ता ल्याई विमानस्थलबाटै संघीय सरकारको निरीक्षणमा सम्बन्धित स्थानीय सरकारलाई दायित्व दिदा उपयुक्त होला । अझ वडा–वडालाई जिम्मा लगाउँदा व्यवस्थापन गर्न केही सहज हुनेछ । त्यस्तै अहिले भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो सम्पन्न गरेको छ । आफ्नो देशको भूमिमा अर्को देशले डोजर चलाएर धेरै पहिलादेखि बाटो बनाएको थाहा नपाएर अहिले भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाए जस्तो गरी प्रतिक्रिया जनायो । मानौं सडक एकै रातमा बनेर उद्घाटन गरियो । बालुवाटारलाई मात्रै देश देख्ने र सिमानालाई वेवास्ता गर्ने पुरानै परिपार्टीको दुस्परिणाम हो यो । यसको जनस्तरबाट समेत चौतर्फी विरोध भइरहेको छ । तथापी सरकारले नक्सा छपाएर गरेको सुरुवाती कदम सराहनीय छ । अब भारतसँग कुटनीतिक वार्ता गरेर भूमी फिर्ता गर्नुपर्छ । एकातिर कोरोनाको प्रभाव बढिरहेको छ भने अर्को तिर सिमा समस्या । सिमामा छिमेकीको हेपाह प्रवृत्ति पहिलेदेखि नै हो साथमा अहिले अधिकांश कोरोना संक्रमित पनि खुला सिमा नाकाका कारण भारतबाट लुकिछिपी आएकाहरु नै छन् ।

वास्तवमा कोरोना चुनौती मात्रै होइन अवसर पनि हो । यस्तो परिस्थितिबाट पनि सरकारले स्थायी रुपमै सिमामा पर्खाल लगाउन वा तारबार गर्ने सम्बन्धमा चासो देखाउनुपर्छ । कोरोनाको सन्त्रासमा बस्नु परेको यो समयमा घटनालाई ओझेलमा पारिन सक्छ । यसका लागि सरकारका तर्फबाट जनतालाई देखाउन एकछिन जनस्तरबाट विरोध हुँदा केही कदम चलाए जस्तो गरे पनि यो क्रम विगतमा जस्तै त्यसै हराएर जानसक्छ । आशा छ यसपाली त्यस्तो नहोस् । विपद्ले सिर्जना गरेको यस परिस्थिति मार्फत अहिलेको सरकारलाई आलोचना गर्नेहरुलाई मुख बन्द गराएर आफुलाई प्रमाणित गर्ने सुवर्ण अवसर समेत पाएको छ । २१ औं शताब्दीको अभिशापको रुपमा विश्वभर फैलिएको यस कोरोना भाइरसको प्रकृतिको समेत राम्रोसँग अध्ययन हुन सकेको छैन । हावाबाट नसर्ने भनिएता पनि कुनै–कुनै अवस्थामा हावाबाट फैलने भनेर विश्व स्वास्थ्य संगठनले समेत भनिसकेको छ । यस्तो अवस्थामा यसको खोपको आविष्कार गर्न पक्कै पनि १/२ वर्ष लाग्नेछ ।

अझ WHO ले यो HIV जस्तै रहने सक्ने बताएको छ । यसैलाई सामान्य रुपमा लिएर अगाडि बढ्नुपर्ने अवस्था नि आउन सक्ने बारे चेतावनी दिएको छ । यस्तो अवस्थामा लकडाउन कडा गरी तिब्र परीक्षण गरिनु पर्छ र थप कोरोना बढ्न नदिई भएको संक्रमित निको गराउनुको विकल्प हुँदैन । जसका लागि आम जनताले पनि पूर्ण लकडाउको पालना गरी सरकारलाई सघाउनु पर्छ । साथै यस्तो विपद्को घडीमा सबै निकायहरूले आफ्नो दायित्व इमान्दारीता पूवर्क पूरा गर्नुपर्छ । लकडाउन पनि थप्ने र संक्रमित पनि बढ्ने यो त्यति चित्त बुझ्दो भएन । त्यस्तै क्वारेन्टाइनमा राखिएकाहरुलाई समेत उचित तरिकाले राख्न नसकेको र उनीहरुको बेलैमा परीक्षण गर्न नसकेको अवस्था छ । यस्तो अवस्थामा परीक्षणमै तिब्रता दिनुपर्छ । त्यस्तै लकडाउन गरे पछि कडाईका साथ हुनुपर्छ । लकडाउन सँगसँगै विशेष नीति रणनीति बनाएर कोरोना महामारी माथि जित हासिल गर्न सबैले एक्यवद्धता जनाउनु जरुरी छ ।

पछिल्लो समय कोरोनाले आक्रान्त पारेको यूरोपमा समेत लकडाउन खुकुल्लो पार्दै लगेको सन्दर्भमा नेपालमा पनि केही साम्य भए पछि पूर्ण देशव्यापी लकडाउन गर्नुको विकल्पमा देशमा आर्थिक अवस्था थप कमजोर हुन नदिन साथै देशको आर्थिक गतिविधि चलायमान बनाउन तिर ध्यान दिन लकडाउनको स्वरुपमा परिवर्तन गर्दै संक्रमण नभएको ठाउँमा सुरक्षित तरिकाले खुकुलो बनाउँदै लानुपर्छ । र त्यो भन्दा अघि अब आउने भोलिका दिनहरुमा लकडाउन कसरी अगाडि बढाउने कुरामा राजनैतीक छलफलबाट गर्नुको सट्टामा सरकारले विज्ञ, डाक्टर तथा सरोकारवालाहरुसँगको सल्लाहमा निर्णय गर्नुपर्छ । तराईका लगभग सबै जिल्लामा कोरोना फैलिसकेको छ । पहिले नै तराई क्षेत्रलाई सिल गर्नुपर्ने हो । अझै पनि त्यति धेरै नै ढिला भइसकेको छैन । तत्कालै सम्पूर्ण तराई र अन्य संक्रमित देखिएका जिल्ला सिल गरिनुपर्छ । त्यस्तै राहात वितरणलाई थप प्रभावकारी बनाउनु आवश्यक छ । साथै कतिपय स्थानीय तहले राहत लैजानेले त्यो बराबरको श्रम गर्नु पर्ने कार्यक्रम ल्याएको छ । जुन स्वागत योग्य छ ।

त्यस्तै दैनिक जीवन सहज बनाउन पनि वस्तु तथा सेवाको सहज आपूर्तिमा सरकारले ध्यान पुर्‍याउनुपर्छ । राष्ट्रिय गौरवका आयोजना समयमै सप्पन्न गर्न निरन्तरता दिइरहनु पनि उत्तिकै आवश्यक छ । भोलिका दिनमा भोकमरी र बेरोजगारी समस्या निम्त्याउने खतरा हुन्छ । जसका सम्बन्धमा पनि सरकारले अहिले देखिनै सोच्न जरुरी हुन्छ । सरकार प्रायः आफ्नो नीतिमा आफै दोधार छ । यस्तो अवस्थामा जनतामा अन्योलता हुनु स्वभाविक हो । अघिल्लो सातासम्म राजधानीबाट बाहिरन नदिने भनेता पनि मानिसहरु आउने जाने क्रम फ्याट्फुट्ट भइरहेको थियो । जुन अहिले घातक सिद्ध भइसकेको छ । त्यसैले सरकार आफ्नो स्पष्ट नीति सहित सफल कार्यान्वयन गर्न सक्नुपर्छ ।

त्यस्तै वैदेशिक रोजगार छोडेर नेपाल फर्केकाहरु र सहरबाट गाउँ फर्कनेहरु कृषि गर्न थालेको छन् । वर्षौ देखिका बाँझो रहेका जमिन खनजोत गर्न थालिएको छ । कतै फेरि कृषकका ट्रकका ट्रक तरकारी कुहिएर गएको छ । यस्तो अवस्थामा कृषक मैत्री कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । जसका लागि कृषकका उत्पादन खरिद गर्न, अनुदानमा बिउ, मल सहज रुपमा उपलब्ध गराउन र अन्य प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउन ध्यान दिनु पर्छ । अब आउने बजेटमा यि पक्षलाई समेटिनु पर्छ । यस महामारीले आफ्नो जमिन बाझो राखेर विदेशमा नोकरी गर्न जानेहरुका लागि केही पाठ अवश्य सिकाएको छ । धेरै कुराको महशुस समेत गराएको छ । विदेशिएका नेपाली युवालाई देशमै केही गर्नुपर्ने ज्ञान दिएको छ । यो एउटा सकारात्मक पक्ष हो । जसले केही हदसम्म भएपनि परनिर्भरता कम गर्नेछ । यसरी समग्रमा अहिलेको अवस्था ज्यादै चुनौतीपूर्ण रहेको छ । तर पनि हामीले यि सबै चुनौतीलाई चिर्दै अगाडि बढ्नुको विकल्प छैन । कोरोनाको यस महामारी माथिको जित हासिल गरेर छिट्टै पुरानै अवस्थामा जान सबैले केही समय धैर्य गर्दै सबैले आफ्नो क्षेत्रबाट आफ्नो दायित्वको पूर्ण पालना गरौ । जनस्तरबाट पनि सरकारले यो गरेन त्यो गरेन भन्नुभन्दा पनि आफै आफू सुरक्षित बस्नुहोस् । अवश्य छिटै नयाँ बिहानीसँगै पूरानै दिनचर्यामा फर्कने दिन आउनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update