Shittalpati
खतराको घण्टी

नेपालमा कोरोना भाइरसको प्रभाव कम रहेको चर्चा चलिरहेकै बेला यसबाट दुई जनाको मृत्यु भएको छ । पहिला संक्रमित फेला परेको चार महिनामा यस्तो दुःखद घटना भएको हो । जसले गर्दा पछिल्ला दिनमा झन्–झन् ठूला खतराका घण्टी बज्दै छन् । आधिकारिक सरकारी पुष्टि अनुसारै जेठ ३ गते मुलुकमा पहिलो पटक यही भाइरसकै कारण एक सुत्केरीको ज्यान गएकै भोलिपल्ट बाँकेमा फेरि अर्का युवकको निधन भएको छ । यी खतराका घन्टीहरुबाट हामी ‘हिँड्दै छौं, पाइला मेट्दै छौं’ कि केही तयारी पनि गर्दै छौं भन्ने अहम् प्रश्न यतिबेला उब्जिएको छ ।

नागरिकले आवश्यक सावधानी नअपनाउने र सरकारले पनि डिल छाड्ने हो भने अबका दिन अझ कष्टकर हुने देखिन्छ । स्थितिलाई कम जोखिमपूर्ण बनाउन संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणको दायरा व्यापक बनाउनुको अहिले विकल्प छैन । कोरोनाका कारण अकालमै दुई जनाले ज्यान गुमाउनु पर्दा सर्वत्र चिन्ता र डर छाएको छ । कोरोना भाइरस महामारी रोक्न गरिएको लकडाउन (बन्दाबन्दी) आठौँ सातासम्म आर्थिक रूपमा समेत यसको नकारात्मक प्रभाव महशुस गर्नुपरेको छ । अहिलेसम्म मानवीय क्षति नभएका कारण हामीलाई आशा गर्ने ठाउँ रहेकोमा त्यो पनि हामीबाट टहरेको छ । यो अत्यन्त दुख्द र पिडादायिक अवस्था हो ।

नेपालमा कोरोना भाइरसका कारण भएको मृत्युले धेरै पक्ष त्रसित भएको छ । हाम्रा स्वास्थ्य सेवा राजधानी र सहर केन्द्रित हुँदाको महँगो मूल्य अहिले चुकाउनु परिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई स्थानीय तहमा पु¥याउनुको विकल्प छैन । सरकारका नीति तथा कार्यक्रमको प्राथमिकता यसैमा केन्द्रित हुनुपर्छ । यसले अकालमा ज्यान गुमाउनुपर्ने अनिष्ट रोक्न सक्छ । हो, मृत्यु हाम्रो जीवनसँगै अभिन्न रुपमा जोडिएको छ । तैपनि अहिलेको अवस्थामा भएको मृत्यु असामान्य हो । यसर्थ यो जटिल परिस्थितिमा सरकारले राजनीतिक दल, सरकारी संयन्त्र र आम नागरिकको समेत सहयोग लिई तयारीलाई थप प्रभावकारी बनाउनुको विकल्प छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update