Shittalpati
दूरसञ्चार दिवस र यसको इतिहास

आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।

पछिल्लो समय भने गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने लगायतका विषयमा यो दिवस केन्द्रित हुन थालेको छ । यद्यपी पछिल्लो समय नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयुबाट प्राप्त हुनसक्ने थप लाभ लिन भने सकिएको छैन । यो अत्यन्त दुःखको कुरा हो । दूरसञ्चारको शाब्दिक अर्थ टाढा–टाढा सञ्चार गर्नु भन्ने हुन्छ । विशेषगरी प्रविधि तथा उपकरणहरुको प्रयोग गरी गरिने सञ्चारलाई दूरसञ्चार भनि बुझिन्छ । विश्वमा दूरसञ्चारका अनेकौं माध्यमहरु परिचित भइसकेका छन् । आधुनिक विश्वमा दूरसञ्चार दिवसले यस्तै नयाँ–नयाँ प्रविधिको प्रयोग र उपयोगितालाई आत्मासात गर्दै गोपनियतापूर्ण प्रविधि र सुरक्षित सञ्चारको वकालत गर्दछ । विश्वभर सूचना तथा सञ्चारका क्षेत्रमा भइरहेको प्रगतिबाट नेपाल पनि अलग छैन ।

नेपाली आकाशमा दौडिएको माइक्रोवेभको तरंग अप्टिकल फाइबरसम्म आइपुगेको छ । इन्टरनेटको विकास तिब्र गतिमा छ । यसबाट नेपाल पनि विश्वको सूचना संसारभित्र सहजै अटाउन सफल भएको छ । यो सकरात्कम हो । सन् २००० अर्थात् १९ वर्षअघि नेपालमा १५ हजार व्यक्ति मात्रै टेलिफोनको पहुँचमा थिए । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला । परिस्थिति अहिले अपत्यारिलो भइदिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो त गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ ।

नेपाल सरकार स्वामित्व रहेको नेपाल टेलिकम सहित निजी सेवा प्रदायक कम्पनीहरु एनसेल, यूटियल, स्मार्ट टेलिकम, एसटिएम, हेलो नेपाल लगायतले तारसहित र ताररहित सञ्चार सेवा उपलब्ध गराइरहेका छन् । नेपालमा प्रजातन्त्रको पुनरागमन पश्चात सबैभन्दा छिटो प्रगति भएका क्षेत्रहरू मध्ये सूचना प्रविधिको क्षेत्र प्रमुख हो । आधारभूत टेलिफोन सेवा, आधुनिक मोवाइल सेवा र इन्टरनेट सेवाको तिब्र विकास भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update