Shittalpati
कूटनीतिक ढङ्गबाट प्रतिरोध गर

छिमेकी देशहरुबाट नेपाल पटक–पटक सीमा अतिक्रमणको चपेटामा परेको छ । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भू–भाग समेटेर राजनीतिक नक्सा जारी गरेर नेपाली भूमिमा गिद्धेदृष्टि लगायतको भारतले फेरी उही रबैया दोहोर्‍याउँदै नेपाली भू–भाग लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडक निर्माण गरेर दुखेको घाउमा नुन–खुर्सानी छर्कने दुस्साहस गरेको छ । भारतले एकतर्फीरुपमा नक्सा जारी गरेदेखि नै यो विषय पेचिलो बन्दै आएको हो ।

नेपाली राजनीतिक नेतृत्वको नालायकी अदूरदृष्टि र अपरिपक्व राजनीतिक व्यवहारका कारण छिमेकीहरुको थिचोमिचो नेपाल र नेपालीले सहनुपरेको छ । यो अत्यन्त दुःखको कुरा हो । चीन र भारतले पञ्चशील सिद्धान्तलाई भुल्दै आफ्नो स्वार्थका लागि नेपाली भूमिमाथि अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय लज्जाको विषय हो ।

यस्तो विषयलाई नेपालले दुईपक्षीय र त्रिपक्षीय तवरमा सामना गर्न नसके अन्तर्राष्ट्रिय समुदायको साथ लिनुपर्छ । भारतले अनौपचारिक रुपमा कब्जा गर्दै आएको भूमिमा सडक बनाउने विषयमात्र होइन सीमा अतिक्रमण, सीमामा नेपाली नागरिक तथा सशस्त्र प्रहरीमाथि आक्रमणका घटना हुँदै आएका छन् ।

नेपालको सार्वभौमसत्ता माथि भारतको बारम्बार प्रहार भइरहँदा नेपाल सरकार भने असल छिमेकीको रट लगाउँदै बसेको छ । लिपुलेक र कालापानीको मुद्दामा सरकारले के कस्तो प्रयास गर्‍यो भन्नेबारे आम नेपाली बेखबरजस्तै छन् । भारतको विस्तारवादी नीतिको नेपालमा सदिऔँदेखि विरोध हुँदै आएको छ ।

यस विषयमा जनस्तरबाट पनि विरोधका स्वर गुञ्जन छाडेको छैन । तथापी, सडकमा आक्रोश पोख्दैमा भारतको थिचोमिचो रोकिँदैन र रोक्न सकिँदैन भन्ने ज्ञान पनि सबैलाई भएकै विषय हो । राजनीतिक नेतृत्वहरूले जथाभावी बोल्ने, कूटनीतिक निकायले यसलाई डकुमेन्टेसन नगर्ने, जस्ता पनि सम्झौता गरिदिने कार्यले सीमा अतिक्रमणका विषय पेचिलो बन्दै गएको हो । तसर्थ, सरकारले नेपाली भू–भाग अतिक्रमणको कूटनीतिक ढङ्गबाट खुलेर र सशक्त प्रतिरोध गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update