Shittalpati
सरकार गम्भीर बन

नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु थपिदै जानका थालेका छन् । यसले के देखाउन्छ भने नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । समयमै नियन्त्रण तथा रोकथामका लागि आवश्यक पहल गरिएन भने नेपालमा विकराल अवस्था सिर्जना हुने देखिन्छ । यसका लागि सरकार थप उच्च सतर्कता अपनाउन तर्फ कदम चाल्नु पर्छ । तर सरकारले भने संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन बाहेक अन्य विपकल्प सोच्ने विषयमा भने गम्भीरता देखाएको छैन । कोरोना संक्रमणको गाम्भीर्यलाई सरकारले बुझेको भए चार महिनाघिदेखि नै तयारी गरेको हुन्थ्यो ।

जति बेला चीन कोरोना भाइरसबाट आक्रान्त बनिरहेको थियो, त्यति बेला यसले नेपाललाई पनि प्रभावित पार्न सक्छ भन्ने तर्फ सरकारले चासो देखाएन । जसको परिणमा अहिले नेपाली जनताले भोग्नु परेको छ । दिनप्रतिदिन जटिलता बढ्दै गए पनि सरकारले प्रभावकारी कदम चालेको देखिदैन । यो अत्यन्त दुखको कुरा हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाल पनि कोरोनाबाट उच्च जोखिममा छ भनिसक्दा पनि सरकारले कुनै पहल गर्न सकेको छन् । प्रतिपक्षीसहित सरकारबाहिरका दलहरू र विज्ञहरूसँग निरन्तर छलफलमा हुनुपर्ने हो । तर त्यसो हुन सकेन । समय घर्किसकेपछि सरकार अलि तातेको त देखियो । तर त्यो पनि पर्याप्त छैन । राष्ट्रिय स्वार्थबारे गम्भीर हुने र दूरदृष्टि राख्न सक्ने जुन क्षमता सरकार सञ्चालकहरूमा हुनुपर्ने हो त्यो देखिएन । कोरोनाको यो कहरबीच जनताको भविष्य सरकारकै हातमा छ ।

जनता सुरक्षित हुनका लागि पनि यो सरकार कोरोनासँगको लडाइँमा सफल हुनैपर्छ । तर आमजनतालाई आश्वस्त पार्न सक्ने कुनै संकेत सरकारले देखाउन सकेको छैन । उल्टो यस्तो संकटका बेला पनि व्यक्तिगत फाइदा लिन खोज्ने प्रवत्ति सत्ता सञ्चालकमा देखिएको छ । सरकारले अब चाल्ने कदमको दूरगामी प्रभाव हुन्छ किनभने कोरोनाको प्रभावबाट नेपाल मात्र होइन, विश्व नै आक्रान्त भइसक्यो । अब सरकारले संकटबाट कसरी उन्मुक्ति पाउने, आत्मनिर्भर कसरी हुने भन्ने सवालमा प्रभावकारी कदमहरू चाल्न आवश्यक छ । अन्यथा महामारीसँगै अन्य संकट नआउला भन्न सकिदैन । तसर्थ सरकार देश र जनताप्रति गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update