Shittalpati
म रहे देश बाँच्छ !

कृष्णप्रसाद भट्टराई
रामपुर, पाल्पा
वित्तिय क्षेत्रको मजवुत व्यवस्थापन विना कुनै पनि राष्ट्रले आर्थिक समृद्धि हाँसिल गर्न सक्दैन । कोभिड–१९ को विश्वव्यापी महामारीसंगै वर्तमान अवस्थामा मुख्य चुनौती बन्दै गएको वित्तिय बजारलाई दुर्घटनाबाट बचाएर देशको अर्थ नितिमा गिरावट आउन नदिनका लागि वैंक तथा वित्तिय संघ, सस्थाको जिम्मेवारी महत्वपूर्ण रहन्छ । जनताको बैकिङ क्षेत्र प्रतिको विश्वास र बैंक तथा वित्तिय क्षेत्रको समाज प्रतिको उत्तरदायित्व यथावत् राख्दै बैंकिङ क्षेत्रको स्थायित्व जोगाउन सबै बैंकर्सहरु एकजुट हुनु अति आवश्यक देखिन्छ ।

सायदै संसारको कुनै पनि देश नहोला यो महामारीको संक्रमणबाट अछुतो रहेको, हालसम्म संसारमा करिब ४० लाख बढी मानिस यसै रोगबाट संक्रमित भएका छन् र करिव २ लाख पचहत्तर हजार बढी मानिसले कोभिड–१९ का कारणले ज्यान गुमाइसकेका छन्, भने हालसम्म नेपालमा १ सय ९ जना यस रोगबाट संक्रमित रहेका र ३० जना संक्रमितको उपचार पछि निको भई घर फर्किसकेको अवस्था छ । संयोगले कोरोना भाइरसको कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या शून्य रहेको छ । यसै भाइरस संक्रमणको कारण संसारका अधिकांश देश तथा शहरहरु बन्दावन्दी (लकडाउन) मा छन् । यस रोगको कुनै पनि औषधि फेला नपरेको यो अवस्थामा नियन्त्रणको आधार नै बन्दावन्दी अथवा लकडाउन रहेको बुझिएको छ । रोगले समग्र मानवजातिको अस्तित्व नै संकटमा पारेको विज्ञहरुको मूल्यांकन छ । साथ साथै यसको असरले विश्व अर्थतन्त्रमा जस्तै नेपालको अर्थतन्त्रमा पनि गुणत्मक हलचल आएको छ ।

गत आर्थिक बर्षको तुलनामा हाल सम्मको कर संकलनमा अतुलनिय गिरावट आएको छ । लकडाउनका कारण पर्यटन क्षेत्र, बैंक तथा वित्तिय क्षेत्र, शैक्षिक क्षेत्र, बैदेशिक रोजगार लगाएतका साना, मझौला तथा ठूला विकासका आयोजनाहरु यसको नकारात्मक असरको चपेटामा परेका छन् । यसले गर्दा नेपालको प्रक्षेपण गरिएको जिडीपी ८.५% मा गिरावट आई २ देखि ३ प्रतिशत रहने आंकलन गरिएको छ । विश्व अर्थतन्त्रमा यसले करीब १.६ विलियन मानिसले रोजगरी गुमाउन सक्ने प्रक्षेपण गएिको छ । नेपालकै सन्दर्भमा फरक क्षमता भएका नेपाली नागरिकहरुको आयस्रोत गुमाएको तथ्यांक अत्यन्त दयनिय देखिएको छ । हालसम्म फरक क्षमता भएका ६०% ले आफ्नो आयस्रोत गुमाइसकेका छन् ।

यस्तो विषम परिस्थितीको सामनाका लागि सरकारले विभिन्न किसिमका राहात प्याकेजहरु ल्याए पनि सो को हालसम्म सहि रुपमा वितरण हुन नसकेको जनगुनासो आएकै छ । सोहि बमोजिम नेपाल राष्ट्र बैंकले पनि वित्तीय प्रणालीमा विभिन्न किसिमका राहत प्याकेजहरु ल्याउने तयारी गरी रहेको छ । सो को लागि सरकारी तवरबाट प्याकेजहरुको घोषणा हाल सम्म नभएको पनि देखिएको छ । यस परिस्थितीलाई चुनौती सँगसँगै सकारात्मक सोचका साथ अवसरको रुपमा लैजान सम्पूर्ण वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र, विकास निर्माणका क्षेत्र तथा उच्च पदस्थ राजनीतिक क्षेत्रलाई पनि आग्रह छ । जसका लागि केही सुझावहरु प्रस्तुत गरेको छु ।

– वैदेशिक रोजगारी गुमाएर वा स्वेच्छाले स्वदेश फर्किन चाहेको व्यक्तिहरुको दैनिकी व्यवसायिक तथा उत्पादनमूलक बनाउनको लागि उनीहरुको सीप बमोजिमको कार्य योजना तयार परी सोलाई कार्यान्वयनमा ल्याउन सरकारले चाडै तयारी थाल्नु आवश्यक छ ।

– बैंक तथा वित्तिय क्षेत्रमा नयाँ योजनाहरु ल्याउने, डिजिटल बैंकिङ्गलाई प्रभावकारी वनाउने उपायहरुको अनुसन्धान गर्ने, ग्रहकहरुलाई प्रोत्साहन गर्ने र सो को विषयमा जानकारी मूलक कार्यक्रम ल्याउने साथै कर्मचारीहरुलाई विषेश तालिम तथा वृद्धि विकासका कार्यक्रम ल्याई प्रतिस्पर्र्धी वातावरणमा उतार्नु पर्ने देखिन्छ ।

– स्थानीय सरकारहरुको सक्रियतामा प्रभावकारी रुपमा कृषि क्षेत्रमा आत्मनिर्भर हुनको लागि जनता सामु आधुनिक प्रविधि मैत्री कृषि सामग्री विउविजन साथै प्रोत्साहानको कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

– स्वास्थ्य क्षेत्रमा देखा परेको थप चुनौतीको सामना गर्न र सो लाई अझ प्रभावकारी बनाउनको लागि त्यस क्षेत्रमा दिन रात नभनी खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको हक हितको सुरक्षा र यसै विषम परिस्थितीमा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुको काममा उत्प्रेरणा ल्याउने प्रयास सरकारी क्षेत्रबाट अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

समग्रमा स्वास्थ्य नै जीवन हो । जीवन रहे हाम्रो अस्थित्व रहन्छ । सरकार र विश्व स्वास्थ्य संगठनको आदेशलाई परिपालन गरी लकडाउनलाई सकारात्मक बनाउने प्रयासमा जुटौँ र जुटाऊँ । यसर्थ म रहे परिवार, समाज र देश बाँच्छ ।
(लेखक ग्लोवल आई.एम.ई. बैंक, रामपुर, पाल्पा शाखाको सम्बन्ध व्यवस्थापक पदमा कार्यरत छन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update