Shittalpati
चोरी हुनबाट सचेत बनौँ

पाल्पामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । गत सोमबार ऐतिहासिक भगवती मन्दिरमा चोरीको प्रयास भयो । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ । भजन किर्तन गर्ने हलको कब्जा फोरिएको छ । भगवतीटोलमा नै रहेको एक पसलबाट पनि चोरी भएको छ । मन्दिर नजिकैको पसलबाट एक वटा पुरानो हट्केश लगिएको छ । तानसेन बजारको सुरक्षाको लागि कैलाशनगरमा जडान भएको सिसिक्यामेरा पनि चोरी भएको छ । यसैगरी तानसेनका, टक्सारटोल बारुदखान, मेहल्धारा, नारायणस्थान, गैरागाउँ, धोबीधारा, बर्तुङ्ग लगायतका क्षेत्रमा चोरीका घटना भइरहेका छन् ।

सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाएको खोस्रो प्रतिवद्धता व्यक्त गरिरहे पनि समाजमा विश्वास नै गर्न नसकिने गरी चोरी, डकैतीका घटनाहरु बढ्दैै जानु दुःखद् हो । चोरी गर्नु अपराध हो र सामाजिक कलंक पनि हो । चोरी, डकैतीको आरोपमा प्रहरीले विभिन्न व्यक्ति तथा समूहलाई बेलाबेलामा पक्राउ गरी सार्वजनिक गर्दै आएपनि चोरको बिगबिगी भने नियन्त्रण हुन सकेको छैन । चोरी गर्नु स्वयंका लागि पनि घातक कार्य हो । समयमै प्रहरीले नियन्त्रणमा लिन नसक्ने हो भने चोरी, डकैती गर्नेहरुको ‘इहलीला’ जुनसुकै बेला पनि समाप्त हुनसक्छ । गाउँ समाजबाट बहिष्कृत हुने यस्तो कुकर्म भने विभिन्न आवरणमा भइरहेको पाइन्छ । यसबाट प्रस्ट हुन्छ कि चोरी गर्ने समूहले विभिन्न आवरणमा चोरी, डकैती गरिरहेका छन् । घर–घरमा कपडा, भाँडावर्तन व्यापारीको भेषमा चोरी गर्ने गिरोह प्रहरीको फन्दामा परेको खबर पनि सार्वजनिक हुँदै आएका छन् । अपरिचित व्यक्तिबारे चनाखो हुने र शंकास्पद गतिविधिबारे प्रहरीलाई समयमै जानकारी दिने हो भने अकल्पनीय घटना हुन पाउँदैन । तसर्थ चोरी, डकैतीका घटना हुन नदिन घरका झ्यालढोका राम्रोसँग बन्द गर्नु, चाबी सुरक्षित स्थानमा राख्नु, घरबाहिर निस्किँदा छिमेकीलाई जानकारी दिनु, चोरी भइहाले तत्कालै सुरक्षा निकायलाई खबर गरे चोरीका घटानाहरु नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update