Shittalpati
रेडक्रस दिवसको सार्थकता

हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो । रेडक्रस अभियानका संस्थापक एवम् प्रवद्र्धक महानायक जाँ हेनरी ड्यूनाको सम्झनामा दिवसलाई लिने गरिन्छ । यो हेनरी प्रति श्रद्धासुमन प्रकट गर्ने र अभियानका मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचार–प्रसार गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरी सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । रेडक्रसको जन्म पछाडी मानव पीडाको कथा जोडिएको छ । यो मानवतावादी संस्था स्थापनाकालदेखि नै हरेक प्रकारका मानवीय पीडा कम एकाग्र चिन्तनका साथ समर्पित रहँदै आएको छ ।

मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा एकता र विश्वव्यापकता जस्ता मुख्य सात सिद्धान्तमा अडिग यो पवित्र संस्था हाल विश्वका १ सय ८५ भन्दा बढी मुलुकमा क्रियाशील छ । मानवीय सेवासँग विभिन्न क्षेत्रमा रेडक्रसले काम गरिरहेको छ । मानवलाई पर्न आउने पीडाको रोकथाम, दैवी प्रकोप, महामारी लगायतबाट पीडितहरुलाई सहयोग पुर्‍याउँदै सेवा कार्यहरु सञ्चालन गर्न आवश्यक आर्थिक, भौतिक, विशेषज्ञहरुको सल्लाह र सहयोगको व्यवस्था रेडक्रसले गरेको छ । हिजो आज पनि विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि रेडक्रस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विश्वमा भइरहेको संघर्षमा मध्यस्थता गरी शान्तिकायम गराउने कार्यमा समेत रेडक्रसको स्थान महत्वपूर्ण छ । समय परिस्थितिसँगै रेडक्रसले काम गर्ने तौरतरिका र कार्य क्षेत्रमा ज्यादै ठूलो विविधता र व्यापकता रहेको छ ।

रेडक्रसले युद्व अवस्थामा मात्र नभई प्रत्येक देशमा आन्तरिक परिस्थितिका कारण सिर्जित विभिन्नखाले मानवीय समस्यामा पनि मानवीय कार्य गरिरहेको छ । रेडक्रस अभियानले पछिल्ला दिनमा गरेको मानवीय कल्याणका गतिविधिलाई मात्र नियाल्ने हो भने पनि अहिलेको तनावग्रस्त विश्वमा रेडक्रसको अपरिहार्यता र आवश्यकतालाई बुझ्न सकिन्छ । नेपाल लगायत विश्वका विभिन्न भागका सशस्त्र संघर्षबाट पीडितहरुलाई आइसीआरसीले पुर्‍याएको मानवीय सहायता विश्वकासामु छर्लङ्ग छ । रेडक्रस र स्वयंसेवकले प्रदान गर्ने अत्यावश्य मानवीय सहायता नै रेडक्रसकर्मीहरुको अमूल्य सम्पत्ति हो । यसर्थ यसलाई रेडक्रसकर्मीहरुले निरन्तरता दिन सके मात्र दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update