Shittalpati
बुद्धको ज्ञान अनुशरण गरौं

आज शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती हो । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकाले पनि बुद्ध जयन्तीको महत्वलाई विशेष रुपमा लिईन्छ । बुद्ध जन्मेको, उनलाई बुद्धत्व प्राप्त भएको र उनले परिनिर्वाण गरेको तीनवटै महत्वपूर्ण घटनाहरु वैशाख शुक्ल पूर्णिमाका दिनमा परेका थिए । ईसापूर्वको पाँचौ शताब्दीसम्म गौतम बुद्ध जीवित रहेको आधारमा बुद्धमार्गीहरुले बुद्ध जयन्ती गणना गरिएको देखिन्छ । तिब्बतियन बुद्धमार्गका अनुयायीहरुले चाही महिना भरी नै ‘साका दावा’ नामले बुद्ध जयन्ती मनाउने परम्परा रहेको पाईन्छ । तथापी नेपालका अधिकांश बुद्धमार्गीहरुले भने यो परम्परालाई कायम राखेका छैनन् र एक दिनमा सीमित भएको देखिन्छ । नेपालमा यस वर्ष आजको दिन लुम्बिनीमा अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना गरी वुद्ध जयन्ती मनाउने कार्यक्रम तय भए पनि विश्वभर फैलिएको कोरोनाका कारण कार्यक्रम स्थगित भएको छ । तर सरकारले भने बुद्ध जयन्तीका दिन देशभर दिपप्रज्वल गर्न निर्देशन जारी गरेको छ । बुद्धको सम्मानमा सरकारले दिपप्रज्वलन गर्न जारी गरेको निर्देशनलाई सकारात्मक मान्नुपर्दछ । ‘संसार दुःखमय छ, दुःखको मूल कारण तृष्णा हो, तृष्णा त्याग्न सकिन्छ । तृष्णालाई त्यागेपछि मात्र दुःखबाट छुट्कारा मिल्छ र निर्वाण अर्थात् शान्ति प्राप्त हुन्छ ।’ यी र यस्तै ज्ञान फैलाउने गौतम बुद्धलाई हरेक वैशाख शुक्ल पूर्णिमाका दिन श्रद्धा एवं भक्तिभावले स्मरण गरिन्छ । बुद्धले संसारलाई शान्तिको मार्गमा हिँड्न प्रेरित गर्दै जीवन र मरणको भवसागरबाट मुक्त हुने मार्ग देखाएका थिए । यो मार्ग विश्वका लागि अनुकरणीय छ । बुद्धका उपदेशमा अहिंसा, मित्रता र विश्व वन्धुत्वको सन्देश छ । लोभ, तृष्णा, मोह, रिस, राग, स्वार्थ नै दुःखका मूल कारण भएकाले त्यसको त्याग गर्नु नै सुख, शान्ति र आनन्दतर्फ अग्रसर हुनु हो । बुद्धका पञ्चशील शिक्षाको पालनाले जीवनलाई सहज बनाउँछ, दुःख अन्त्य गर्छ र निर्वाण प्राप्त हुन्छ । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो । बुद्ध जन्मस्थल कपिलवस्तु, लुम्बिनी हिन्दु र बौद्धमार्गीकै पवित्र तीर्थस्थल हो । त्यसैले बुद्ध र लुम्बिनी नेपाल अनि नेपालीका गौरव र विशिष्ट सम्पदा हुन् । पच्चीस सय वर्षभन्दा अघि गौतम बुद्धले दिएका उपदेश आज पनि उत्तिकै सान्दर्भिक छन् । तसर्थ मुलुकमा दिगो शान्ति र सुदृढ एकता स्थापित गर्न बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई जीवनमा अनुसरण गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update