Shittalpati
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर !

रामचन्द्र रायमाझी
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने, विपन्न वा गरिखाने अतिविपन्न वर्गलाई जीवन धान्नै नसक्ने गरी प्रभाव पारेको छ । कोभिड–१९ ले सबैभन्दा बढी असर नेपाली अर्थतन्त्रका खम्बाहरुमा पारेको छ । नेपाली अर्थतन्त्रका मुख्य खम्बाका रुपमा रहेका पर्यटन, रेमिट्यान्स, प्रत्यक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय स्थायित्वमा बढी नै प्रभाव पारेको देखिन्छ । नेपालसँग व्यापारिक सम्बन्ध भएका देश, रोजगारी प्रदान गर्ने प्रमुख राष्ट्र तथा पर्यटकीय सम्भावना उच्च भएका देशको अर्थतन्त्रमा असर परेको छ । जसको प्रभाव नेपालको आन्तरिक अर्थ व्यवस्थामा समेत देखा परेको छ । यतिबेला नेपालमा अर्थतन्त्रका प्रमुख खम्बाहरु नै कमजोर बन्दै गएका छन् । पर्यटन क्षेत्र र रेमिट्यान्समा गम्भीर असर देखिएको छ । आर्थिक रुपमा शक्तिशाली भनिएका राष्ट्रहरुको अर्थतन्त्र नै कमजोर बन्दै जाँदा नेपालमा पनि त्यसको असर देखिएको हो । यसर्थ कोरोनाको प्रभावले नेपाली अर्थतन्त्रका खम्बामा पारेको असरका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

कोरोना भाइरसको प्रभाव सबैभन्दा पहिला नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको यस्तो घोषणा र तयारीलाई केन्द्रीत गरेको निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाएका थिए । सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएपछि निजी क्षेत्रले एयरलाइन्स, होटल, रेष्टुरेण्ट तथा लज, ट्राभल, ट्रेकिङ जस्ता पर्यटकीय व्यवसायसँग सम्बन्धित क्षेत्रमा लगानी बढाए । तर, विश्वभर कोरोना संक्रमण बढेसँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रचार(प्रसार लगायतका प्रायः सबै गतिविधि अनौपचारिक रुपमा रोकिएका छन् । विश्वका अधिकांश देशले अन्तर्राष्ट्रिय हवाई उडान रद्द गरेका छन् । कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । कोरोना संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । यो लेख तयार गर्ने समयसम्म्मा ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको उच्च जोखिममा राख्नु र नेपाल भ्रमणमा आउने पर्यटकको देशमा पनि कोरोना संक्रमण बढ्नु जस्ता कारणले होटल बुकिङ रद्द भएका छन् । नेपाल आउने पर्यटकको आवगमन तथा बुकिङ भइसकेका पनि रद्द भएकाले होटल क्षेत्र कोरोनाबाट अधिक प्रभावित भएको छ । पर्यटन आवागमन रोकिएसँगै व्यापार, उद्योग, यातायात जस्ता क्षेत्रका आर्थिक गतिविधि ठप्प भएका छन् । कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रको खम्बा जस्तै बनेको रेमिट्यान्स पनि चौपट बनेको छ । रोजगारीको गन्तव्य मुलुकमा कोरोना संक्रमणसँगै त्रासका कारण कम्पनीहरु बन्द गरिएका छन् । कम्पनी नै बन्द हुँदा नेपालीको रोजगारी गुमेको छ, जसका कारण नेपालमा भित्रने रेमिट्यान्समा प्रभाव परेको हो । नेपालमा आउने रेमिट्यान्समध्ये करिब ५० प्रतिशत खाडी देशबाट आउने र ती देशमा कोरोना प्रभाव देखिएकाले पनि नेपालको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा रहेको छ । श्रम गन्तव्य रहेका मुलुकहरूमा पनि कोरोना भाइरसले भयावह रूप लिएका कारण उनीहरूको श्रम नीति परिवर्तन हुने निश्चित छ, जसले पसिना बेचेर अर्थतन्त्र चलाउने नेपालजस्ता राष्ट्रलाई धेरै मार पर्ने देखिन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विप्रेषण अर्थात् रेमिट्यान्सको योगदान २५.४ प्रतिशत छ । दुई दशकअघि जीडीपीमा विप्रेषणको अंश जम्मा १०.७ प्रतिशत मात्र थियो । स्वदेशी उत्पादन, खपत, निर्यात वृद्धिभन्दा पनि अर्थतन्त्र विप्रेषणमा निर्भर हुन पुगेको यसले देखाउँछ । विप्रेषणले व्यक्ति तथा परिवारको जीवन मात्र होइन, राष्ट्रिय पूँजी निर्माणमा पनि योगदान पु¥याएकाले यसमाथि अलिकति पनि तलमाथि हुँदा मुलुककै अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने देखिन्छ । नेपाली जनजीवन र अर्थतन्त्र पूर्ण रूपमा रेमिट्यान्ससँग जोडिएको छ । कोरोना प्रभावले बैदेशिक रोजगारी संकटमा पर्ने हुँदा रेमिट्यान्स आय घट्ने निश्चित छ ।

अहिलेसम्म विश्वका २ सय १५ देशमा कोरोना संक्रमण देखिएको छ । जसले गर्दा रोजगारको शिलशिलामा बाहिर गएका धेरै नेपालीहरु घर फर्किसकेका छन् । यसले नेपालको अर्थतन्त्रमा अकल्पनीय धक्का लागेको छ । बढ्दो निर्भरता कम गर्न अर्थविद्हरुले पटक–पटक सरकारलाई समयमै आग्रह गर्दै आएका थिए । तर सरकारले न यहाँ काम गर्ने वातावरण बनायो, न त उद्यमशीलता नै । कथमकदाचित् रोजगार दिने मुलुकको श्रमनीतिमा परिवर्तन आएमा सबैभन्दा ठूलो मार नेपालजस्तो मुलुकलाई पर्ने छ । जसका कारण देशको अर्थतन्त्र जोखिममा नरहला भन्न सकिन्न । अन्तर्राष्ट्रिय व्यापारमा चरम नोक्सानी बेहोरिरहेको देशले रेमिट्यान्सको टेको गुमाउँदा विदेशी मुद्राको सञ्चिति र आम उपभोक्ताको क्रय शक्ति घट्छ । असर स्वरुप आर्थिक क्रियाकलापहरू सुस्ताउनेदेखि अर्थतन्त्र जोखिममा धकेलिनेसम्म हुन्छ । कोरोना संक्रमणको विस्तारकै कारण नेपालमा आउने प्रत्यक्ष विदेशी लगानी पनि घट्ने देखिएको छ । रेमिट्यान्स र प्रत्यक्ष विदेशी लगानीमा कमी आउँदा नेपालको शोधनान्तर अवस्थामा समेत समस्या देखिन थालेको छ । तर, नेपालमा उत्पन्न भएको असहज अवस्थालाई दृष्टिगत गरी विदेशी अनुदान र ऋण धेरै आयो भने शोधनान्तर अवस्थामा भने खासै समस्या देखिने छैन ।

संक्रमण अझै ३ महिना चल्यो भने वैदेशिक रोजगारी कटौती हुन सक्छ । त्यस्तो अवस्थामा सम्बन्धित राष्ट्रहरुले नेपाली कामदारलाई फर्काउन थाल्ने छन् र वैदेशिक मुद्राको सञ्चितिको अवस्था कमजोर बन्ने छ । त्यस्तो अवस्थामा अन्तिर्राष्ट्रिय व्यापारमै समस्या उत्पन्न हुन्छ । संक्रमणको जोखिम रोक्न सरकारले आवागमन बन्द, यातायात बन्द, कार्यालय, विद्यालय बन्द गराएको छ यो अत्यन्त सकारात्मक रहेको छ । संक्रमण फैलिनबाट रोक्नु नै देशको अर्थतन्त्रलाई विनाश हुनबाट रोक्ने मुख्य उपाय हो । कोरोनाले दैनिक ज्यालादारी गर्ने, लघु उद्यम गर्ने र गरिबीको रेखामा रहेकाहरूको आयमा बढी असर पारेको छ । गरिबीको रेखाभन्दा केही माथि मात्रै भएकाहरूलाई तल धकेल्ने निश्चित छ । सरकारले कुनै खाले राहत दिन्छ भने यिनै क्षेत्रबाट सुरु गर्नुपर्छ । सरकारले बैंकलाई निर्देशन नै दिएर प्रभावित व्यवसायको ब्याजदर घटाएर, किस्ता वा ब्याज तिर्ने समय पर सारेर वा ब्याज मिनाहा गराएर अहिले राहत दिलाउने काममा तदारुकता देखाउनु पर्छ ।

नेपाली अर्थतन्त्रमा आन्तरिक र बाÞय झट्काको कतिसम्म गहिरो प्रभाव पार्छ भन्ने कुरा २०७२ को भूकम्प र सोही वर्षको अघोषित भारतीय नाकाबन्दीले प्रमाणित गरिसकेका छन् । दोहोरो झट्काकै कारण उक्त वर्ष आर्थिक वृद्धिदरमा तीन दशमलव पाँच प्रतिशत कमी आयो भने तीन प्रतिशत बिन्दुले गरिबी बढेको अनुमान छ । भूकम्पले १० खर्ब रूपैयाँ बराबरको क्षति गर्यो, जुन त्यस वर्षको जीडीपी अनुपातमा ४० प्रतिशत हाराहारी थियो । सोही वर्ष भारतले गरेको आर्थिक नाकाबन्दीले दैनिक औसत दुई अर्ब रूपैयाँ बराबरको आर्थिक क्षति पु¥याएको अनुमान छ । यसले समग्र आर्थिक वृद्धिदरमा साढे तीन प्रतिशत कमी ल्यायो । त्यसैगरी २०७४ सालको बाढी, पहिरो र डुबानले ६० अर्ब ७७ करोड रूपैयाँबराबरको क्षति पुर्यायो । यस्ता प्रकोपका कारण गरिबी रेखामा रहेका करिब तीन प्रतिशत जनता पुनः चरम गरिबीमा धकेलिएको आंकलन गर्न सकिन्छ । यसरी पटक–पटक प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाल पुनःकोरोनाको महामारीमा पर्यो । यसबाट पनि नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने देखिन्छ । यसको असर कति समय र कहाँ–कहाँ पर्छ अहिले नै भन्न सकिन्न । तसर्थ यसबाट हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रभावबाट बच्न सरकारले समयमै तयारी थाल्न आवश्यक छ ।
(लेखक नवजनचेतना राष्ट्रिय दैनिक, शित्तलपाटी डटकमका उप–सम्पादक एंव अर्थशास्त्रका विद्यार्थी समेत हुन् । )

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update