Shittalpati
समाजलाई सभ्य र भयरहित बनाऊ

पछिल्लो समय नेपाली समाज असभ्य बन्दै गएको छ मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको छ । समाजमा विभिन्न खाले अपराधको बढोत्तरीसँगै सरकार र सुरक्षा निकायलाई सुरक्षा चुनौती थपिएको छ । सञ्चार माध्यममा हरेकदिन बालिका बलात्कार, सामूहिक बलात्कार, अपहरण गरी बलात्कार, झ्यालबाट छिरेर घरमै सुतिरहेकी किशोरी माथि बलात्कार र सामूहिक बलात्कार पश्चात् हत्याजस्ता कहालीलाग्दो घटना सार्वजनिक हुँदै आएका छन् । समाज जतिसुकै उन्नत र चेतनशील मानिए पनि दिनहुँ छोरीचेलीहरु प्रताडित भइरहेका छन् । गरिबी र अभाव असुरक्षाको एउटा कारण हो भने बालिका बलात्कार, हत्या, अपहरण जस्ता घटना मुलुकका आर्थिक सामाजिक समस्याका उपज हुन् ।

तराई मधेसमा अझै पनि छोरीचेलीलाई बोझका रुपमा लिने गरिएको छ । छोरा पाउँदा हर्ष बडाई गर्ने भद्रभलादमीहरु छोरी पाउँदा मनोविज्ञान नै नकारात्मक हुने प्रवृत्ति अद्यपी चलिरहेको छ । पछिल्लो समय छोरीहरु परिवारबाटै असुरक्षित र समाजबाट तिरस्कृत बन्न पुगेका छन् । समाज आधुनिक, शिक्षित र चेतनशिल भएपनि यस्ता घटनाहरु बढ्दै जानु अत्यन्त दुखद् हो । मानिसमा आपराधिक मनोवृत्ति नहटेसम्म समाज सुरक्षित र स्वतन्त्र बन्न सक्दैन । भनिन्छ, पशुको विवेक हुँदैन ।

तर, पशुले समेत आफ्ना सन्तानको ख्याल राखेरमात्रै यौनजन्य व्यवहार गर्छ । आधुनिक समाजमा मान्छेहरु पशुभन्दा हिंस्रक बन्दै गइरहेका छन् यो निकै दुःखलाग्दो अवस्था हो । नेपालमा निर्मला पन्तजस्ता कैयन् छोरीहरु फूल्न नपाउँदै निमोठिनुुपर्ने नियति छ । देशमा कानुन छ, कार्यान्वयन गर्ने निकाय पनि छ । तर, खोइ कानुनको प्रभावकारिता ? खोइ सुरक्षाको प्रत्याभूति ? खोइ छोरीहरुको सुरक्षा ? निर्मला पन्त हत्या प्रकरणमा राज्यले सुरक्षा र हत्यारा पत्ता लगाउन नसक्दा दण्डहीनता मौलाएको छ । दण्डहिनताको अन्त्यका लागि सरकारले अपराधीलाई कडा सजाय दिई समाजलाई सभ्य र भयरहित बनाउनु जरूरी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update