Shittalpati
दमनका विरुद्ध पत्रकार एक हौं

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । आज पनि विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका पत्रकारहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवाव दिइने गरिन्छ । नेपालमा २०४६ साल पछिको संविधानले संवैधानिक रुपमै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै आएको छ ।

प्रजातन्त्र पुर्नस्थापना पछि प्रेस हुर्कनको लागि खुकुलो वातावरण पाएपनि माओवादी द्वन्द्वकालमा सबैभन्दा सास्ती खेप्नुपर्यो । समाचार लेखिएकै भरमा राज्य र तत्कालिन विद्रोही पक्षको चेपुमा थियो प्रेस जगत । यद्यपी पछिल्लो समय स्वतन्त्रताको केही अनुभूति भएपनि पूर्ण सार्थकता भने पाउन सकेको छैन । २०७२ मा जारी संविधानले पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि प्रेस स्वतन्त्र हुन सकेको छैन । २०७६ साल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सुरक्षित बन्न सकेन । पत्रकार सरकारबाटै असुरक्षित बन्न पुगे । समाचार लेखेकै कारण पत्रकारमाथि फौजदारी कसुरमा मुद्दा चलाइयो ।

अनलाइनमा समाचार लेखेको तथा फेसबुकमा समाचार सेयर गरेकै भरमा पत्रकार पक्राउ परे । सञ्चार माध्यममा प्रकाशित/प्रशारित समाचारका आधारमा अनुगमन तथा नियमन गर्ने छुट्टै निकाय प्रेस काउन्सिल हुँदाहुँदै त्यसलाई लत्याएर साइबर अपराधको तरबार पत्रकारमाथि देखाइनु आफैँमा राम्रो होइन । लोकतान्त्रिक चरित्रको राजनीतिक प्रणालीमा प्रेस तथा न्यायालय माथि नियन्त्रण हुन थाले प्रेस जगतले अनुभूति गरेको छ । संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रतालई संविधानको मूलमन्त्र मानिएको हुँदा कम्तीमा त्यसको मर्म बुझिनु पर्ने हो तर त्यसो हुन सकेको छैन् । पत्रकारिता गरेकै कारण पत्रकार पक्राउ गर्ने र धम्की दिने काम हुनु अत्यन्त निन्दनीय छ ।

समाजका अपराधिक र भ्रष्ट असामाजिक तत्वबाट पत्रकारमाथि आक्रमण भइरहेको र गैरराज्य पक्षको आक्रमण निरुत्साहित गर्न राज्य संयन्त्र संवेदनशील हुनुपर्नेमा राज्यकै संयन्त्र प्रेसविरुद्ध देखिनुले पे्रस स्वतन्त्रताको हनन् भएको ठहर छ । तसर्थ अब प्रेस जगत चुप लागेर बस्नेवाला छैन । प्रेस दमनका विरुद्ध सबै पत्रकार एक हुनु आजको आवश्यकता हो । केवल औपचारिकतामा सिमित हुदैँ आएको प्रेस स्वतन्त्रता दिवस स्वतन्त्र प्रेसका लागि निर्णायक हुन आवश्यक छ । यसर्थ दिवसले संसारभरका पत्रकालाई एक हुने पाठ सिकाओस् शुभकामना ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update