Shittalpati
श्रमको सम्मान गरौं

मजदुरहरुको महान दिवस अन्तर्राष्ट्रिय मजदुर दिवस शुक्रबार विश्वभर मनाइएको छ । ‘आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने मूल नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन शुरु भएको हो । यस दिनलाई श्रमिकका हक अधिकार मानव अधिकार लगायत सबैले उपभोग गर्न पाउने सम्पूर्ण अधिकारहरुलाई स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको दिनका रुपमा लिइन्छ । विश्वका मजदुरहरुको यो महान् चाड हो । विश्व मजदुर आन्दोलनले विश्वमा ठूलो उपलब्धि हासिल गरेको छ । मजदुर अधिकारको क्षेत्रमा निकै क्रान्ति आएको छ । तर अझै पनि नेपाललगायत कतिपय देशमा मजदुरको अवस्था नाजुक छ । यो अत्यन्त दुखको कुरा हो । नीतिगत रुपमा केही राम्रो देखिए पनि कार्यान्वयन तहमा मजदुरहरु चर्को शोषणमा बाच्न बाध्य छन् ।

अन्य क्षेत्रका अतिरिक्त नेपाली विद्यालय सेवाकर्मीहरु अझै पनि ठूलो विभेद, चर्को श्रमशोषण, वृत्ति विकासको अभाव, न्यून पारिश्रमिक, स्थायीको अवसरबाट बञ्चित सामाजिक असुरक्षाजस्ता समस्याबाट पीडित छन् । खासगरी अधिकांश निजी लगानीमा सञ्चालित विद्यालयहरुमा अझ शोषणको अवस्था विकराल छ । निजी क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीहरु अत्यन्त न्यून तलबमा बौद्धिक श्रम बेच्न बाध्य छन् । अझ वास्तविक मजदुरलाई हामी झत्ते, झुत्रो, कमजोर, निरीह मान्छेको चित्र कोर्छौं । बच्चालाई अपमानजन्य शब्दले गाली गर्ने कुलीन संस्कारको भूत भिराउँछौँ । समाज सोचमा गरिब छ, तर श्रमिक भावनाका धनी हुन्छन् । श्रमको मूल्य र पसिनाको रहस्य तिनले बोध गर्छन् । फोहोर बटुल्ने, भारी बोक्ने, खेत खन्नेलाई सम्मान गर्न नसक्ने र आपूmलाई सभ्य ठान्ने सोच नै सामन्ति सोंच हो । मानवीय भावनाको कदर गर्न नजान्ने समाजले आफ्नो र आफ्नो श्रमको यथार्थतालाई बोध गर्न सक्दैन । यसर्थ यो अन्तर्राष्ट्रिय मजदुर दिवस केवल दिवसको नारा घन्काउन होइन,नेपालका श्रमिकको सम्मानका लागि स्मरणीय, उदाहरणीय सफलताको पर्व बनोस् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update