Shittalpati
कठै बिचरा ‘म’ !

शिव बस्याल
रातभरिको ओसिलो सन्नाटालाई छिचोल्दै मिर्मिरेमा झुल्किएको घामको किरणले नासपातिको पातहरुमा झुण्डिरहेका शीतका थोपाहरुलाई धर्तीमा खसाल्दै थियो । एक बथान भगेराहरु ओहोरदोहोर गर्दै तिनै पातहरु माथी बस्तै उड्दै गरिरहेका थिए, चिसो शीतका थोपा खसेर ओभाएका पातहरुमा न्यानो महसुस गर्दै आफ्नै सुरमै कराउदै थिए । त्यस्तै म जन्मिने बेलामा पनि शीतका थोपा खसेझै आमाका आँसुका ढिका बरबर्ती खसेका थिए तर भुईमा खस्न नपाउदै आफ्नै साडीको एक छेउमा बिलाउथे । निक्कै कष्टले जन्मिएको ‘त’ त्यसैले होला धेरै माया लाग्छ । यहि शब्द आज पनि गुन्जिरहन्छ कानमा । शब्द बर्षौ पुरानो हो र पनि हरेक पल ताजा लाग्छ, भर्खरै बोलेजस्तो उहीँ आमाको मुखबाट ।

आफु भोको रहेर पनि पटुकामा बाधेर ल्याएको आधा रोटी खान पाउनु आफैमा गर्व लाग्थ्यो । मेलापात गरेर आउदा पनि आमाले केही न केही ल्याइदिनु हुन्छ भन्ने मनमा सधै लाग्थ्यो र आँगनको डिलमा उभिएर आमा आउने बाटो कुरिरहन्थे । दैनिकी जस्तो आमा आउन अबेर भयो भने आमा आउने आधा बाटोसम्म दुगुर्दै जान्थे र आमाको काखमा सँगै फर्किन्थे फुरुङ्ग हुँदै । सोध्थे–आमा आज केही ल्याइदिनु भएन ? झलझली आँखामा नाचिरहन्छ चाहेर पनि त्यो बाल्यकाल लाई बिर्सिन कहाँ सकिदो रहेछ र कठै बिचरा ‘म’ !!! हरेक दिन आमाको तस्बिर हेरेर मुस्कुराउने म खै कुन्नी किन ओठमा खुसी भन्दा पहिल्यै आँखामा आँसु रसाए ।

हरेक दिन , हरेक पल आउने यादहरुलाई उछिन्दै आज धड्कन बढेर आउदैछ । शुन्यतामा हराएको म अब हावमा पनि आमाको न्यानो मायाको स्पर्श र हृदयमा आमाका तस्वीरहरु सलबलाउनु सायद यो कुनै संयोग हुनुपर्छ । आमा भनेर बोलाउने शब्द नै अधुरो रह्यो यो जीवनमा ! आज मातातीर्थऔंसी हरेक मानवजातिलाई जन्मदिने र सन्तान जन्माएर आमा बनेका सृष्टि सिर्जना गर्ने भगवान रुपी आमाहरु प्रती सतसत नमन । तस्बिर मुटुमा थियो । मनमा थियो र आँखामा आइनै रह्यो । सोसल साइटमा पोस्टिएका हरेक आमाका तस्बिर जस्तै आफ्नै आमालाई पनि पस्किन मन थियो तर सकिन र आमालाई यस्पालिको मातातीर्थऔंसीमा पनि हृदयमा सजाउन बाध्य भए ।

सम्झिन्छु आज आमा भैदिएको भए मैले भन्दा पहिल्यै फोन गरेर बाबु कोरोनाको कस्तो प्रकोप छ त्यहा ? आफुलाई ख्याल राख्नु धेरै, बाहिर ननिस्किनु , समयमै खाना खानु , चिसो पानी नखानु तातो पानी पिउनु है , तिमिलाई निमोनियाको समस्या हुन्छ , सानैमा कति दुःखले बचाएको । अब लकडाउन खुल्ने बित्तिकै घर आउनु । पर्दैन त्यहा बस्न । यहि दुःख सुख गरी बसौला । अफसोस न आमाको फोन आउन सम्भव छ न त आमालाई फोन गरेर दुःखःसुख साट्न नै । अब त यहि निर्जीव तस्बिरहरु र करोडौं थान आमामा सम्झनाहरु बाहेक केही त छैन म सँग । भन्न त मन लाग्छ आमा म ठिक छु । तपाईको आशीर्वादले छिटो घर सकुसल फर्किन सकु । म जन्मिएको ठाउमा फेरि उस्तै गरी रमाउन सकु । बाल्यकालमा आफ्नै आँगनमा उफ्रिए झै बाबुनानी उफ्रिएको देख्न सकु र आमाले बोकेजस्तै बुइ हालेर बाबुनानी लाई खुसी राख्न सकु ।

फोन गर्दा बाबु भन्छ –बाबा कहिले आउनु हुन्छ ? चाहेर पनि यो समयमा फर्किन सकिरहेको छैन । कोरोनाले जताततै त्रसित बनायो । आतंक मच्चायो र स्वदेश फर्किन सकिरहेको छैन र पनि बाबुलाई खुसी राख्न भोलि आउछु भन्न बाहेक अरु बोल्न सकिरहेको छैन तर थाहा छैन त्यो भोलि कहिले आउने हो या अनायसै बिलाएर जाने हो कुन्नि ....... म जस्तै हरेक आमा बिहिन साथिहरु र म जस्तै प्रदेशमा तड्पिएका प्रदेशीहरु सकुसल स्वदेश फिर्न सकुन । आमाहरुको न्यानो काखमा रमाउनेहरु र एक थान सेल्फिमा खुसी साट्नेहरु सबैमा गर्व लाग्छ काश आज मेरो पनि आमा भैदिएको भए ...समस्त आमाहरुप्रती मातातीर्थऔंसीको शुभकामना र मेरो आमालाई हार्दिक श्रद्धाञ्जली !!

(लेखक हाल मुम्बईमा रहेर साहित्य क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।)

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update