Shittalpati
स्थानीय सरकार र विपद् व्यवस्थापन

कोभिड–१९ ले निम्त्याएको हालको संकटका अनेकन आयाम छन् । एकातिर कोरोनाको संक्रमण दिनप्रतिदिन फैलँदो छ भने अर्कोतिर अत्यावश्यक आपूर्ति अवरुद्ध हुँदा नागरिकको जीवनयापन कठिन बन्दै गइरहेको छ । यो घडीमा यसको संक्रमण नियन्त्रणको पक्ष मात्र चुनौतीपूर्ण छैन बरु आममानिसका बहुआयामिक समस्या क्रमशः सतहमा देखिँदै छन् । यो संक्रमणबाट जुध्न अपनाइएको बन्दाबन्दी विधिले आममानिसका सामाजिक तथा आर्थिक जीवनमा जटिलता उत्पन्न हुन थालिसकेका छन् । विशेषगरी गरिब र विपन्न वर्गलाई यसको मार बढी छ । आम्दानीका बाटा नखुल्दा उनीहरूलाई हातमुख जोर्नै धौँधौँ छ । महामारी र विपद्का बखत खाद्य सुरक्षाको सुनिश्चितता अत्यन्तै महत्वपूर्ण हुन्छ । सक्षम र जनउत्तारदायी सरकारको परिचय यस्तै संकट र आपद्का बेला खुल्छ । यो विपद्को घडीमा सरकारले अभिभावक सरह आफ्ना धर्म निर्वाह गर्न सक्नुपर्छ ।
अहिलेको संकटमा प्रदेश र स्थानीय सरकार जति प्रभावकारी देखिन्छन्, त्यति नै जनतामा उनीहरूप्रति विश्वास बढ्नेछ । पाल्पाका १० स्थानीय सरकार संक्रमण नियन्त्रण र विपद् व्यवस्थापनका लागि निकै सक्रिय नै देखिए । यो अत्यन्तै प्रशंसनिय छ । पाल्पाका प्रायः स्थानीय सरकारहरूले समयमै क्वारेन्टाइन स्थलहरू बनाउने, गाउँमा बाहिरबाट आउनेहरूको अभिलेख राख्ने, लकडाउनका समयमा दैनिक आम्दानी गर्न नसकेर जीवन निर्वाहमा संकट परेकाहरूको सूची तयार पार्ने, तिनलाई राहत वितरण गर्ने, कतिपयले त वृद्धवृद्धा, अशक्त र दीर्घरोगीका लागि औषधि घर–घरमै पुर्‍याउने व्यवस्था गर्ने र आफ्ना नागरिकलाई आवश्यक परेको समयमा एम्बुलेन्सको व्यवस्थासमेत गर्ने काम गरिरहेका छन् ।

जसले गर्दा स्थानीय सरकार र नागरिकबीचमा आफूलाई समस्या पर्दा आफ्ना जनप्रतिनिधि सहयोग गर्न आउँछन् भन्ने विश्वास जाग्रित भएको छ । संकटका बेला स्थानीय सरकारले देखाएको तदारुकताको सबैले स्वागत गर्नुपर्छ । लकडाउन अझै लम्बिन सक्ने भएकाले सबै स्थानीय तहहरु स्थानीय सरकार र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन विपद् व्यवस्थापनमा अझ थप
कदमहरु चाल्न सक्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update