Shittalpati
महामारीको सजाय कहिले सम्म ?

विकास काफ्ले

कोरोना भाइरसको आतंकबाट विश्व त्रस्त छ । विश्वका मै हुँ भन्ने राष्ट्रहरूका साथै राजनीतिक रूपले, धनसम्पत्ति, व्यापार र व्यवसाय, बुद्धि र ज्ञानविज्ञानले अति शक्तिशाली छु, सम्पन्न छु मलाई कसले भेट्ने/छुने भन्नेहरू पनि अहिले डर र त्रासको कारण घरको चार पर्खालमा सीमित बन्न बाध्य छन् । प्रथम विश्व या तेस्रो विश्व, धनी या गरिब, कोही पनि मुक्त छैनन् । नदेखिने शत्रुहरुको आक्रमणले महाशक्ति राष्ट्रहरु पनि निरीह जस्ता देखिएका छन् । सेवाकार्यमा जुटेका सरकार सम्बद्ध केही प्रशासक, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय सम्बद्ध व्यक्ति विशेष, स्वयंसेवी बाहेक अहिले विश्वको आधाभन्दा बढी मुलुक ‘लकडाउन’को बाध्यतामा जेलिएको छ ।

सबैको उद्देश्य अहिले कोरोना भाइरसबाट कसरी बँच्ने/बचाउने, फैलिन नदिने र कोरोनालाई कसरी निष्प्रभावी बनाउने दिशामा दिलो ज्यानले लागेका छन् । अमेरिका र युरोपको अवस्था कहालीलाग्दो छ । सन्त्रास व्याप्त छ संसारभरका मानव जातिहरुमा । सामाजिक सञ्जालहरुमा अनेक खालका समाचारहरु आइरहन्छन् । नकारात्मक र सकारात्मक दुवैखाले समाचारका वीचमा विस्म र दुःखका खबरहरु नै धेरै छन् । मन एकतमासले दुःखेको अनुभूति भैरहन्छ । यही अनुभूतिका बीच उत्पन्न केही विषयहरुलाई यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरेको छु । साँझपख अचानक आकाश रिसाएर गुमुक्क पर्दै पर्लक्क, पुर्लुक आँखा फर्काउदै जोडले गाली गर्दै, कराउँन सुरु गर्छ । केहि दिन अगाडि नै चट्यान लागेर केही ब्यक्तिको मृत्युको समाचार सुनेको थिएँ । हिजो पनि खुब चड्कन बजारे जस्तो आवाज आयो । कता–कता क–कसलाई चड्कायो, चड्काएन थाहा भएन तर मलाई पनि चड्काउने पो हो कि भनेर खुब डर लाग्यो र केही हदसम्म मनलाई सान्त्वना दिन लुरुक्क कोठा तिर पसेँ । आखिर जिन्दगीमा मृत्यु भन्दा डरलाग्दो चिज के नै रहेछ र ? केही छिनमै आकाश कराउँदै, रुँदै गर्न थाल्यो । एकान्त कोठामा मन चसक्क भयो । मनमा अनेकौं अनुत्तरित प्रश्नहरुको आगमन भयो ।

के हुँदैछ मानव जगतमा ? कहिलेसम्म रहला यो अवस्था ? कहिले प्राकृतिक विपत्ती त कहिले माहामारी अझै कतिञ्जेल कति र को–को मर्ने हुन् ? खै कस्तो अपराध भएछ हामीबाट ? लाखौं हारिसके र गुमाइसक्यौँ, कैयौं जुध्दै छन् कोरोना नामक शत्रुसँग । कतिले हराए पनि कोरोनालाई र बाँकी बन्द कोठाभित्र कैदिको जस्तो जीवन बिताउन बाध्य छौँ ! अपराध गरेर जेल बसेको कैदीलाई बरु रिहाई हुने निश्चित समय तोकिएको हुन्छ तर हाम्रो सजाय अनिश्चित छ ! मात्र महशुस गरेको छ मनले बाँच्न पाउनु नै अहो भाग्य रहेछ, के नै रहेछ र आखिर यो जिन्दगी ? अझै किन गर्छन् मान्छेहरु तेरो, मेरो भन्दै खुट्टा तानातान ? अनि कहाँ के गर्दै होलान् कस्तो अवस्थामा होलान् अंग भङ्ग भएर चोक चोकमा थाली थापेर अरुले दिएको २/४ पैसाले पेट भर्नेहरु ? मन छट्पटिएको छ, तड्पिएको छ तर गर्न शब्द लेख्नु बाहेक सक्ने अवस्था केहि छैन् । जति समय बित्यो उति आतंकित बनेको छ परिस्थिति ।

अझै कहिलेसम्म रहला यो अवस्था ? महिनौँ हुँदै, ६ महिना, वर्ष दिनसम्म रÞयो भने कति पुग्ला मृत्युदर ? कति पुग्लान संक्रमित संख्या ? खाने के, गर्नेे के, यो भयावह परिस्थितिसँग जुध्ने कसरी ? सम्झिदा पनि भकानिन्छ मन, अतालिन्छ मन । जिन्दगी फुलाउने, परिवारलाई खुशी दिने, आमालाई हसाउँने, कैयौं सपनाहरुका बाढी बोकी जिन्दगीलाई पैसासँग धितो राखी विभिन्न देशहरुमा संघर्ष गर्न नेपाली आमाका लाखौं सन्तानहरु पुगेका छन् । तर आजको यो अवस्थाले परिवार कता, आफु कता र सपना कता बनाएको छ । दुखमा परिवार र आमाको काख भन्दा उत्तम स्थान अरु कहाँ नै हुन्छ र ? मन कस्लाई हुँदैन परिवारको साथमा रहन । दुनियाँ ठप्प छ, न घर जाने आधार छ, न समयको निश्चित छ ? मन गाँठो पार्दै बन्द कोठाभित्र आफुलाई सम्हाल्दै परिवारलाई सम्झाउँदै आत्मबल बलियो बनाउनु बाहेक अरु उपाय के नै छ र । पीडा सबैलाई छ ।

अझ घरजग्गा, गरगहना धितो राखेर सुनौलो भविष्यको परिकल्पना गर्दै भर्खर, भर्खर प्रदेशिने विद्यार्थी र अन्य ब्यक्तित्वहरुको मनस्थितिमा झन् कति असर परेको होला ? ऋणको भारीले भन्दा अझ बढी पीडाको भारीले थिचेको छ होला । के–कसरी गुज्रिएको छ होला उनीहरुको दैनिकी ? यति महिना यो काम गरेर यसरी व्यवस्थापन गर्छु भन्ने योजना अवस्य हामी सबैको हुन्छ । कसले सोचेको थियो र यस्तो भयावह परिस्थिति र जाइलाग्ला भनेर यो खतरनाक शत्रु ? कतिपय नेपालीको कोरोनाको कारणले प्रदेशमै मृत्यु भएको खबर सुनिएको छ । कमाउन गएको छोरा, श्रीमान, बुवा रोगको शिकार बनि मुर्दा बनेको खबरले परिवारको हालत के होला ? कति चोट लागेको होला मन मस्तिष्कमा ? के गर्नु परेपछि जे पनि भोग्नैपर्ने यो नियतिको खेल यस्तै रहेछ ।

विदेशमा मात्र होइन आफ्नै देशमा पनि विद्यार्थीहरुले बोक्नुपरेको छ कैयौं समस्याका भारीहरु । बन्द कोठाभित्र घरबाट अडकलेर लगेको खर्च, मनभित्र रोगको त्रास यो अवस्थाको सामना, घर जाने समय नमिल्नु गाडी नपाएर अलपत्रमा परेका कैयौं छन् । खुब सोच्छु के होला भविष्य, पूरा होला कि नहोला सपनाहरु ? यो समयले के बनाउला ? फेरि सम्झाउछु आफैलाई पहिला हामी सबै संयमित भएर बाँच्नुपर्छ, जिन्दगी रÞयो भने समस्याहरुसँग त डटेर जुध्नुपर्छ । सम्पन्न हुनेहरुले त महिनौलाई पुग्ने खानाको जोहो पहिले नै गरिसकेका हुन्छन् तर दिउँसो काम गरेर साँझ, बिहान छाक टार्ने मजदुरहरुको अवस्था कस्तो भएको होला ? यो अवस्था, समयले ल्याएको परिस्थिति कहिले भूकम्पको कारण भागा–भाग गर्नुपर्ने, कहिले रोगसँग बच्न घर भित्र लुक्नुपर्ने, संवेदनशिल बनेर सोच्न थाल्यो भने फनफनी रिंगटा लाग्छ ।

लाग्दा रुघाखोकी, आउँदा ज्वरो, म सम्म आयो कि कतै कोरोना भन्दै मन झसङ्ग हुन्छ । सबै ठाँउमा यस्तै छ त भन्दिन कतिपय स्वास्थ्य संस्थाहरुमा अझै पनि अस्पताल जाँदा परबाट छोइन्छ कि जसरी औषधी दिएको देखिन्छ । फेरि प्रश्न गर्न मन लाग्छ आफैसँग । आफ्नै मनले, साच्चै यस अवधीमा अन्य बिरामीहरुको उपचार कसरी भैरहेको होला ? पहिला जस्तो सहज रुपमा भएको छ कि छैन होला ? सबै प्रकारका बिरामीहरुले स्वास्थ्य सुविधा पाएका छन् कि छैनन् होला ? कतै अकालमै उपचार नपाएर ज्यान गुमाउनु पर्ने त होइन ? कर्णाली जस्ता विभिन्न विकट ठाउँहरुमा त्यहाँका जनताहरुको स्वास्थ्य परीक्षणको अवस्था कस्तो होला ? सुनिन्छ यहाँबाट राहत स्वरुप यति प्राप्त भयो, यो व्यक्तिले यति सहयोग गर्नुभो ।

सम्पूर्ण सहयोगी मनहरुप्रति सलाम छ । यस्ता विपत्तिमा अवसर सम्झेर राहत स्वरुप आएको रकम भित्रभित्र शोषित नहोस् । यो सहयोग बढी प्रभावित जो–जो हुनुहुन्छ, सम्बन्धित ब्यक्तिहरुको हातमा परोस् । बडो अचम्म लाग्छ त्यस्ता तस्वीरहरु सामाजिक सञ्जालमा देख्दा, सहयोगको बहाना बनाएर छोरीको बिहेमा कन्यादान दिँदा माइती पक्षका सबैले हात छोएर दिए जसरी २/४ किलो चामल दाल १०/१५ जनाले छोएर हस्तान्तरण गरियो भन्दै पोस्टयाएको देख्दा ! तर राहत ग्रहण गर्ने व्यक्तिको अनुहारमा प्रष्ट बादल लागेको देखिन्छ । राहत भन्या त दुखेको घाउमा मलम बन्नु पर्ने होइन र ? तर यहाँ नेर त घाउलाई उल्टो नुनचुक दलेर झन बल्झाए जस्तो लाग्यो । मैले हिजो मात्रै सामाजिक सञ्जाल फेसबुकमा एउटा समाचार पढेको थिएँ । यो यो नाम गर्नुभएको व्यक्तिले आयोजना गर्नु भो मजदुरहरुको लागि एक छाक खानाको ब्यवस्था तर मजदुरहरुले फोटोमा देखिन चाहेनन् ।

कता–कता मनमा गड्यो यो वाक्य ¤ मागेर खाने कसैलाई रहर हुँदैन, र कोही मान्छे रहरले मर्दैन । हो फोटो खिच्नु नै गलत म भन्न खोजेको पनि होइन ! हरेक कुरा अवस्था हेरेर हुन्छ, परिस्थिति हेरेर हुन्छ होइन र ? मलाई लाग्छ यसले मजदुरहरुको आत्मबलमा अवस्य नकारात्मक असर पर्छ ! यो अवस्थामा हामी एक अर्काको सारथी बनेर हिंड्न् सिक्नुपर्छ ! अनि मात्र समस्याहरुलाई निर्मुल पार्न सकिन्छ । यस्तो अवस्थालाई पनि अवसर सम्झेर खेल खेल्न थालियो भने त्यो महापाप हुनेछ । त्यसैले यो विपत्को घडीमा हामी भित्रको मानवतालाई बाहिर ल्याएर परिस्थिति सहज बनाउने प्रयास गरौं । छिटो भन्दा छिटो कोरोनाको अन्त्य भई हामी ढुक्कले बाँच्न र स्वतन्त्र बनेर हिंड्न पाउँ भन्दै भगवानसँग प्रार्थना गर्दछु ।

(लेखक नेपाल प्रेस युनियन पाल्पाका साधारण सदस्य एवं, श्रीनगर टेलिभिजनका संवाददाता समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update