Shittalpati
लापर्बाही नगरौं

सरकारले कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यकीय काम बाहेक हिँडडुल गर्न नपाउने गरी लकडाउन गरेको छ । सरकारको यो निर्णय आमनागरिकको हितमा छ । तर, विडम्बना आम नागरिक लकडाउन उल्लंघन गर्दै जथाभावी हिँडिरहेका छन् । कतिपयले सरकारको यो निर्णयलाई निकै सामान्य र खेलाँचीका रूपमा लिइरहेका छन् । सडकमा सुरक्षाकर्मीको आँखा छलेर कुनै बहादुरी देखाइएको नभई आफ्नो र परिवारको स्वास्थ्य माथिको खेलवाड गरिरहेको छु भन्ने प्रत्येक नागरिकले बुझ्न जरुरी छ ।

आफ्ना नागरिकलाई घरभित्रै बस्न बाध्य बनाउने तथा आर्थिक, सामाजिक गतिविधि ठप्प पार्ने राज्यको कुनै चाहना नभई बाध्यता नै हो भने यसलाई इमानदारितापूर्वक पालना गर्नु सबै नागरिकको दायित्व हो । सरकारले लकडाउन गरे पनि पाल्पामा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि निषेधाज्ञा गरिएको थियो । तर विडम्बना पाल्पाका आम नागरिकहरु त्यसको अवज्ञा गर्दै सडकमा निस्किएको देखिन्छ ।
आईतबार तानसेनका सडकहरुमा बाक्लो उपस्थितीमा नागरिकहरुको भिड देखिएको थियो । नेपालमा दिनानु दिन संक्रमितहरुको संख्या बढ्दै जाँदा उच्च जोखिम देखिए पनि आम नागरिक सडकमा विना काम निस्कीनुले नागरिक नै यसतर्फ गम्भीर बनेको देखिदैन । बिना काममा बाहिर निस्कीने नागरिकहरुलाई कडा एक्सन लिने काममा सुरक्षा निकाय पछी हट्नु हुँदैन । महामारी जस्तो संक्रमणलाई हल्का रूपमा लिई भयानक मूर्खता गरिनु गलत हो ।

कोरोनाको संक्रमण यति चाँडै फैलन्छ कि केही समयसम्म त्यसको कुनै पत्तो नै हुँदैन । एक व्यक्तिले थाहै नपाई कैयांै व्यक्तिलाई सार्न सक्ने उत्तिकै सम्भावना रहन्छ । त्यसैले, यो संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै आफ्नै घरमा सुुरक्षित साथ रहनु हो । यदि सरकारले गरेको लकडाउनलाई उल्लंघन गर्दै जाने हो भने इटालीकै जस्तो भयानक क्षति बेहोर्नुपर्ने छ । त्यतिखेर जोसुकै पनि मृत्युको मुखमा पर्न सकिन्छ । कोरोना भाइरस संक्रमण रोकथाम, न्यूनीकरण र नियन्त्रणमा सबै घरमै बसौ, कुनै किसिमको लापर्बाही नगरांै । यसर्थ विश्वव्यापी महामारीको यो अवस्थालाई सबैले गम्भीरतापूर्वक लिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update