Shittalpati
अर्थतन्त्र उकास्न तर्फ ध्यान दिऊ

नेपालले कोरोनाभाइरस महामारीका कारण मानवीय क्षति बेहोर्नु नपरे पनि ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । अहिलेसम्म संक्रमण फैलिन नपाएको र लकडाउनका कारण थप क्षतिको सम्भावना न्यूनीकरण भएकाले सन्तोष मान्ने अवस्था रहे पनि अर्थतन्त्रमा भने यसले निकै ठूलो असर पारिरहेको छ । नेपाली अर्थतन्त्रमा आन्तरिक र बाह्य झट्काको कतिसम्म गहिरो प्रभाव पार्छ भन्ने कुरा २०७२ को भूकम्प र सोही वर्षको अघोषित भारतीय नाकाबन्दीले पनि प्रमाणित गरिसकेका छन् । दोहोरो झट्काकै कारण उक्त वर्ष आर्थिक वृद्धिदरमा तीन दशमलव पाँच प्रतिशत कमी आयो भने तीन प्रतिशत विन्दुले गरिबी बढेको अनुमान छ ।

कोरोनाको महामारीबाट अर्थतन्त्रलाई अब कसरी माथि उठाउने भन्नेमा बहस हुन जरुरी छ । नेपालले अब तत्काल पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सक्ने अवस्था छैन भने जलविद्युतमार्फत एकाध वर्षमै समृद्धि सम्भव देखिँदैन । यसैले नेपालका लागि कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई यसमै अवसर दिने विकल्प अर्थतन्त्र उकास्ने एक भरपर्दो माध्यम हुन सक्छ । त्यसै पनि नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । यसलाई निर्वाहमुखी नभई उत्पादनमुखी र प्रशोधन तथा प्याकेजिङका माध्यमले जीडीपीको ५० प्रतिशतसम्म पु¥यााउन सकिने आधार पनि छन् । कतिपय नेपाली युवाले विदेशमा सिकेको सीप तथा सरकारले विदेशबाट विज्ञ झिकाएरै भए पनि कृषिमा नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने तथा नगदेवालीका माध्यमले निर्यात पनि वृद्धि गर्न सक्छ । यसमा सरकारको खुकुलो नीति तथा अनुदान र सहजीकरण भने पूर्वशर्त हनु आवश्यक छ । अहिले नै ५० औं अर्बका कृषिजन्य वस्तु आयात गरिरहेको नेपालले आयात प्रतिस्थापन मात्र गर्नसक्यो भने यसलाई कोरोनाभाइरसको महामारीको विपद्बाट उत्पन्न सकारात्मक परिणामका रूपमा लिन सकिन्छ । तसर्थ कोरोना प्रभावले अर्थतन्त्रमा पारेको प्रभावलाई माथि उठाउनका लागि नेपाल सरकार, राजनीतिक पार्टीहरू, नागरिक समाज, स्वास्थ्य क्षेत्रहरूका सम्पूर्ण विज्ञहरूले यस तर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update