Shittalpati
कोरोना संकट र समाधान

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संकट कहाँ गएर टुंगिने हो, यकिन साथ भन्न सकिने अवस्था छैन । साना कमजोरदेखि ठूला र शक्तिशालीसम्म सबै राष्ट्र यस महासंकटबाट प्रताडित छन् । चीनमा नयाँ भाइरस देखिएपछि त्यसलाई गम्भीरतापूर्वक लिनुभन्दा राजनीतिकरण गर्ने र उल्टै होच्याउने राष्ट्रहरु अहिले आफैं सबभन्दा बढी संकटमा फसेका छन् । आज मानव जाति असाधारण र अभूतपूर्व संकटमा फसेको छ । जसका कारण धेरैजसो देशहरु ‘लकडाउन’मा गइसकेका छन् ।

लगभग पुरै विश्व एकसाथ ठप्प भएको छ । यो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ? समस्याको समाधान कहिले हुन्छ ? यी प्रश्नको उत्तर कसैसँग छैन । पूरै सभ्यतामा अन्योल छाएको छ । कोरोनाको प्रकोप नियन्त्रण गर्नका लागि वैज्ञानिकहरु उपाय खोज्न लागि परिरहेकै छन् । यो सकारात्मक हो । तर प्रकोप दिनानुदिन बढिरहेको छ । साथै कोरोना उपचारको कुनै औषधि पनि पत्ता लागेको छैन । तत्काल पत्ता लाग्ने सम्भावना पनि छैन । परिणामतः यो महामारी यही बिन्दुमा समाधान हुन्छ भनेर तोक्न सक्ने स्थिति छैन ।

त्यसैले नचाहँदा नचाहँदै हामी अन्योल भोग्न बाध्य छौं । लकडाउनका कारण यतिबेला मानिसहरु आ–आफ्नो घर कोठामा कैद भएका छन् ।
मानिसहरुबीच भौतिक दुरी बढेको छ । तर, सामाजिक दुरी बढेको छैन । कोरोनाजस्तो महामारी मूलतः मानव सिर्जित समस्या हो । यो मूलतः हाम्रो धन सुख, पद र शरीर सुखको महत्वाकांक्षाले पैदा गरेको समस्या हो । त्यसैले यसका कारणहरु सर्वाङ्गीण छन् र समाधान पनि सर्वाङ्गीण नै हुनुपर्छ । समाधानका लागि यान्त्रिक दृष्टिकोण छोडेर जैविक दृष्टिकोण अपनाउन जरुरी हुन्छ । यदि यो तथ्यलाई नजर अन्दाज गरेर प्राविधिक समाधानमा नै चित्त बुझाएर बसियो भने यस्ता समस्या बल्झिरहने छन् ।

यो कुरा आम सर्वसाधारण र नीति निर्माताहरु सबैका लागि उत्तिकै महत्वपूर्ण छ । तर, यतिबेला आम मानिस मात्र होइन, नीति निर्माताहरु पनि, कोरोनाको किटाणुलाई मार्न सक्ने औषधि पत्ता लाग्यो भने समस्या समाधान हुन्छ भन्ने सोचिरहेका छन् । तत्कालिक समाधानका लागि यो जरुरी पनि छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update