Shittalpati
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सलाम

यतिबेला विश्व कोरोनाको चपेटामा छ । एकलाख बढीले ज्यान गुमाइसकेका छन् । खुसीको कुरा नेपालमा प्रवेश गरे पनि यो महामारीले नेपालीको ज्यान भने लिन पाएको छैन । भलै १६ जनामा यसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालले पनि उच्च सतर्कता अपनाउन जरुरी छ र उच्च सतर्कता पनि अपनाई रहेको छ । नेपालमा स्वास्थ्य सामग्रीको अभाव छ । तर पनि महामारी विरुद्ध लड्नुको विकल्प छैन । सीमित स्रोत तथा साधनका बीच महामारी विरुद्धको लडाईंलाई जित्नु छ । यो लडाईंमा स्वास्थ्यकर्मी अग्र स्थानमा उभिनुपर्ने छ, र उभिरहेका पनि छन् । त्यसपछिको दोस्रो लाइनमा छन् सुरक्षाकर्मी ।

सुरक्षा सामग्रीको अभावकाबीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले जोखिममा काम गरिरहेका छन् । उनीहरुको काम अत्यन्त प्रशसनिय र स्वागत योग्य छ । स्वास्थ्यकर्मी र सुरक्षकर्मीहरुको मनोवल उच्च बनाउनु सरकार, सरोकारवाल पक्ष तथा आम नागरिकको दायित्व हो । यसमा कसैले पनि कन्जुस्याई गर्नु हुँदैन । त्रासपूर्ण मानसिकतामा अस्पतालमा जानु, कोरोना लागेको बिरामी आउने हो कि, मलाई सरेर परिवारलाई पनि सर्ने हो कि भन्ने त्रासमा स्वास्थ्यकर्मीलाई राखिरहनु हुन्न ।

आज पनि बिरामीको उपचारका लागि चाहिने ल्याब परीक्षण, तालिम प्राप्त जनशक्ति, औषधी, पीपीइ नभएर कुनै बिरामीको उपचार नै गर्न नसकिने हो कि भन्ने सोच स्वास्थ्यकर्मीमा बाँकी छ, यसलाई अनपेक्षित मान्नुपर्छ । चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई पैसा देखाएर प्रोत्साहित गर्ने प्रयास अपर्याप्त मात्र होइन, अपमानजनक छ । हरेक व्यक्तिको स्वस्थ भएर जिउन पाउने अधिकारको रक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधी र विषय विज्ञहरूको सरसल्लाहका आधारमा उपकरण उपलब्ध गराउने प्रतिबद्धता सरकारबाट प्रकट हुनुपर्छ । चौविसै घण्टा खटिने सुरक्षाकर्मीहरु पनि असुरक्षित महशुस गरिरहेका छन् ।

उनीहरुका लागि पनि सुरक्षित वातावरण सिर्जना गरिनु पर्दछ । कोरोनाको जोखिम मोलेरै नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । तसर्थ विषम परिस्थितीमा पनि जोखिम मोलेर २४ सै घण्टा काममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सलाम छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update