Shittalpati
लकडाउन व्यवस्थापन गर

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन‘ गरेको छ । ‘लकडाउन’ आज २० औं दिन पुगेको छ । ‘लकडाउन’मा एकान्तबास बस्नुपर्ने बाध्यता आफैँमा ‘ट्रमा’ को अवस्था हो । यसअघि नभोगेको र नसोचेको तर कोरोना संक्रमणको डर र त्रासले ‘लकडाउन’ भोग्नुपरेको छ । स्कूल, कलेज, अफिस वा अरु दैनिक काम रोकिएका छन् । यस्ता काममा व्यस्त भइरहनेहरु ‘लकडाउन’ पछि घर वा कोठामै सीमित हुनुपरेको छ । दुःखको कुरा के हो भने,लकडाउनको यतिका दिन बितिसक्दा समेत आम सर्वसाधारण यसमा अभ्यस्त हुन सकेका छैनन् । छिमेकी भारतमा लकडाउन उल्लंघन गर्ने सर्वसाधारण माथि प्रहरीले निर्मम प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा देखिन्छन् भने नेपालकै पनि तराई क्षेत्रमा कतिपय सर्वसाधारण माथि प्रहरीले लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएका छन् । तर, देशका अन्य जिल्लाहरुमा भने सडकमा सवारीसाधन र सर्वसाधारणको आवतजावत अपेक्षाकृत बढी नै देखिएको छ ।


कतिपय बाध्यताले यात्रामा छन् त कतिपय रमिता हेर्न वा घर बस्न नसकेर छटपटीले पनि निस्किएको देखिन्छ । यसरी हामीले लकडाउन पालना नगरेर संक्रमणको जोखिम बढाइरहेका छौं । तर लकडाउनको समय अवधि लम्बिँदै जाँदा मानिसहरू निरास हुन थालिसकेका छन् । आत्तिन थालिसके जस्तो पनि देखिन्छ । कतिलाई लकडाउन अझै कतिदिन हुने हो भनेर दिक्क लागिसक्यो । दिक्क मानेर या लकडाउनको गाम्भीर्यता नबुझेर घरबाहिर निस्केको र प्रहरीको कारबाहीमा परेका कुराहरू पनि सञ्चार माध्यममा आइरहेका छन् । महामारीको संक्रमण रोक्ने पहिलो उपाय होम क्वारेन्टाइन नै हो । लकडाउनको घोषणा सरकारले गरे पनि यसको कार्यान्वयन प्रशासनले भन्दा स्थानीय तहबाटै हुनुपथ्र्यो । खासगरी सर्वसाधारणसँग सीधा पहुँच र प्रभाव भएको स्थानीय तह र यसका पदाधिकारीहरूको यो बेला बढी प्रभावकारी भूमिका अपेक्षित छ ।

लकडाउनका बेला स्थानीयलाई सम्झाई–बुझाई गर्नेदेखि अत्यावश्यकीय वस्तु घरमै डेलिभरी गर्नेसम्मका काममा स्थानीय तहले काम गर्नुपथ्र्यो । तर दुर्भाग्य, स्थानीय तहहरू यसमा चुकिरहेका छन् । राज्यले अहिलेको लकडाउन नागरिकको जीवनरक्षाका लागि नै लागू गरेकाले लकडाउनको व्यवस्थापन गर्ने काममा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update