Shittalpati
क्यान्सर दिवसको सार्थकता

‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदैछ । क्यान्सर सचेतनाका आवाजहरू वृद्धि गर्दै एकतावद्ध हुनु यो नाराको उद्देश्य हो । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा छ । तर रोग लागेको छोटो समयमा उपचार थालियो भने रोकथाम गर्न सकिन्छ भनेर सचेत पार्नको लागि पनि यस्तो दिवस महत्वपूर्ण हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएका छन् । जसले गर्दा क्यान्सरको जोखिम पनि उत्तिकै बढ्दै गएको छ । नेपाल लगायत विश्वभर एउटा ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको छ ।

क्यान्सर एउटा घातक प्रकृतिको रोग हो । जुन शरीरको कुनै अंग वा तन्तुमा कोषिकाहरूको अनियन्त्रित वृद्विले गर्दा उत्पन्न हुन्छ र यो शरीरको अन्य भागमा समेत फैलिएर जान सक्छ । क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ ।
क्यान्सरको उपचार र स्याहार पाउनका लागि सबैको पहुँच पुगेको छैन । यो रोग मानिसका लागि एउटा दुर्भाग्य साबित भएको छ । खर्च, पीडा र यससँगको चिन्ताले सबैलाई ठूलो असर पारिरहेको छ । समयमै यसबारे पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गरी मृत्युवरणमा न्यूनीकरण गर्न सकिन्छ । रोग पहिचान भए पनि अधिकांस मानिसहरू स्वास्थ्य उपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छन् । बिरामी भएर मात्र उपचारका लागि जाने बानीलाई त्याग गर्दै समयमा नै उपचार गर्न जरुरी छ । देशव्यापी स्क्रिनिङका कार्यक्रम लागू गर्न नसकिनु, क्यान्सर रोकथाम तथा नियन्त्रणका कार्यक्रम सर्वसुलभ रूपमा गर्न नसकिनु, स्वास्थ्य जनचेतनाको स्तर उकास्न नसकिनु आदिले क्यान्सरको उपचारमा अपेक्षित नतिजा आउन नसकेको देखिन्छ । नेपालमा क्यान्सर बिरामीले उपचारका क्रममा आर्थिक व्यायभार आफैले वहन गर्नुपर्ने, बिमाको राम्रो व्यवस्था नभएको कारणले पनि उपचारमा असर गर्ने गरेको छ । तसर्थ सकारले यि कुराहरुतर्फ ध्यान दिन सके मात्र हरेक वर्ष मनाइने विश्व क्यान्सर दिवसले सार्थकता पाउनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update