Shittalpati
भीमा एकादशी, भिद्यो र भीमसेन

मदन देउराली
प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ । यस वर्ष भीमा एकादशी यही माघ १८ गते र द्वादशी माघ १९ गते परेको छ । द्वादशीको दिन शितलपाटी भीमसेनको रथयात्रा हुनेछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ । यसको सम्बन्ध महाभारतका पात्र पाण्डु कुन्ती पुत्र तथा पाँच पाण्डवका माहिला सदस्य भीमसेनसँग रहेको छ । गरुड पुराण अनुसार एकपटक आफ्ना पितृहरुको ऋणबाट मुक्त हुन भीमलाई एकादशीका दिन व्रत बस्नु पर्ने भयो । उनी व्रत बस्लान भन्ने कसैलाई पनि लागेको थिएन । किनकी भीम अत्यन्त खञ्चुवा मोटा र बलबान थिए र उनी जहिले पनि खाईरहन्थे । तर भीमले यो एकदशीका दिन केही नखाई अत्यन्त त्याग र समर्पणका साथ एकादशीको व्रत लिए । त्यसैले नै यो एकादशीको नाम भीमा एकादशी रहन गएको भनिन्छ । यस दिन जो कोही व्रत बस्छन् । उनको सबै पाप नष्ट हुनुका साथै समृद्धि प्राप्त हुने तथा भोग र मोक्ष प्राप्त हुन्छ भन्ने पुराणमा उल्लेख गरिएको छ । यसदिन विशेष गरी भगवान श्री विष्णुको आराधना गरिन्छ र रातभरी जाग्राम बस्छन् ।

विभिन्न कालखण्डमा काठमाडौं उपत्यकाबाट विभिन्न प्रयोजनका लागि नेवारहरु तानसेनमा आएर बसोबास गरेपछि उनीहरुले यहाँ पनि आफ्ना इष्ट देवता भीमसेनको मन्दिर बनाई गुठी पूजा आदि गर्ने परम्परा बसालेको हो भनिन्छ । भीमसेनको पूजा अर्चना विशेष गरी नेवार समाजमा बढी चलेको देखिन्छ । त्यसैले देशका विभिन्न ठाउँहरुमा जहाँ जहाँ नेवारहरुको बस्ती छ त्यहाँ भीमसेन मन्दिर स्थापना गरिएकोे पाइन्छ । भीमसेनलाई कसैले कूलदेवता मानेका हुन् भन्ने भनाइ पनि कता कता उल्लेख भएको पाइन्छ । कतै भीमसेन अत्यन्त बलवान भएकाले आफनो सम्पति र व्यापारको सुरक्षाको लागि नेवारहरुले उनको पूजा उपासना गरेका हुन् भन्ने धारणा पनि छ । जे सुकै भए पनि भीमसेनलाई व्यापार व्यबसायको भगवानको रुपमा मानिदै आइरहेका छन् साथै आफनो व्यापार वृद्धि गर्न भीमसेनले हरतरहबाट सहयोग गरिरहेको विश्वास नेवारहरुमा रहेको पाइन्छ ।

तानसेनमा कैलाशनगर, बसन्तपुर, शित्तलपाटी, भीमसेनटोल, मेहलधारा, गोर्खेकोटमा छ टोलहरुमा भीमसेनका मन्दिरहरु बनाइएका छन् । यी मन्दिरहरु कुनै कुनैमा नित्य पूजा हुन्छ, वर्षको एकपटक भए पनि गुठी पूजा हुन्छ । त्यस मध्ये पनि शित्तलपाटी र भीमसेनटोलको भीमसेनको रथयात्रा गरिन्छ तर सबैको गरिदैन । यसरी बनाइएका भीमसेनका मन्दिहरुमा कुन भीमसेन हो कुन भींद्यो हो छुट्याइएको छैन । किनकी भनिन्छ महाभारतको भीमसेन र नेवार जातीले पुजिन भिंद्योे दुई अलग–अलग पात्र हुन् । भींद्योको अर्थ हुन्छ असल गर्ने देवता । नेपाल भाषामा भिं भनेको असल द्यो को अर्थ देवता । तर भीमसेन भनेको महाभारतका एक अत्यन्त बलवान पात्र । राजा पाण्डुका माहिलो छोरा पाण्डव परिवारको माहिला भाई हुन् । उनी वास्तवमा कुन्ति र बायु (हवा का देवता) का पुत्र हुन साथै वायु पुत्र हुँदा यिनमा भगवान शिवका अंश पनि विद्यमान भएको मानिन्छ । भगवान शिवका अष्ट मूर्तिहरु मध्ये वायु पनि एक भएको हुँदा उक्त अनुमान पुष्टि भएको देखिन्छ । नेपालमा अत्यधिक मात्रामा पुजित विभिन्न देवी देवताहरु मध्ये भीमसेन पनि एक रहेका छन् । यहाँ भएका भीमसेन मन्दिरहरुमा भएका मूर्तिहरु हेर्दा सबै भीमसेन जस्तो देखिन्छ । मूर्तिका हातमा मुगदल हुनु, शत्रु माथि जाइलागेको जस्तो हुनु, मन्दिर बाहिर झुण्डाइएका घण्टहरुमा भीमसेनलाई चढाएको भनेर कुँडिएको हुनु त कतै राखिएको शिलालेखमा भीमसेनको स्तुती लेखिएको हुनु आदि सबैले भीमसेन भन्ने पुष्टि हुन्छ ।

शित्तलपाटीको भीमसेन मन्दिर विसं १८६४ मा स्थापना भएको भनिन्छ । त्यस्तै भीमसेनटोलको मन्दिर वि.स. १८७२ सालतिर पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजीरसिंह थापाद्वारा स्थापना गरिएको, बसन्तपुरको भीमसेन मन्दिर विसं १९६३ र मेहलधाराको भीमसेन मन्दिर विसं १९६६ साल तिर स्थापना गरिएको देखिन्छ । तानसेनमा विभिन्न देवी देवताको रथयात्रा गर्ने परम्परा कर्णेल उजिरसिंह थापाले शुरु गरेका थिए । अंगे्रज नेपाल युद्धमा अंगे्रजहरुलाई पराजित गरिसके पछि आफ्नो भाकल अनुसार कर्णेल उजिरंिसह थापाले भगवतीको भव्य रथयात्रा गरेको तथा यसपछि अमरनारायण, गणेश, भैरब र भीमसेनको पनि रथयात्रा पनि सुरु गरेकोे भनिन्छ ।

माघ शुक्ल भीमा एकादशीको दिन तानसेनमा खासै केही गरिदैन । केवल यस दिन राती शित्तलपाटी मन्दिर अगाडि धुनि जगाइन्छ, भजन गाइन्छ तथा उपस्थित भक्तजनहरुलाई प्रसादको रुपमा समयबजी बाँडिन्छ र माघ शुक्ल द्वादशीको दिन भीमा द्वादशी भनेर शित्तलपाटीको भीमसेनको रथयात्रा गरिन्छ । दिउँसोको शुभ साइतमा हातमा मुगदल लिएको भगवानको पित्तलको सानो प्रतिमूर्तिलाई तीनतिर खुल्ला पितलले मोडिएको छाना भएको रथमा राखि नगर परिक्रममा गराइन्छ । रथ हलुका पनि भएकाले रथ बोक्नलाई पाँच छ जना भए पुग्दछ । रथको पछाडीको भागमा हातमा मुगदल लिएको भमिसेनको फोटो राखिन्छ । रथयात्रामा भजन मण्डलीले दाफा भजन गाएर नगर परिक्रमा गर्दछन् । भीमसेनटोलको भीमसेनको रथयात्रा भाद्र महिनाको जनै पूणिैमा गुनु पून्हीको पाँचौ दिन गर्ने गरिन्छ । गुनु पुन्हि अर्थात् नौ दिनको पूर्णिमा मनाउने चलन तानसेनमा मात्र छ अरु कतै छैन । यो अवधिमा नौ दिनसम्म विभिन्न देवीदेवताको लगातार रथयात्रा गर्ने गरिन्छ । पहिलो दिन रक्षा बन्धन जनै पूर्णिमा, चुँइकी निकालिन्छ अर्को दिन गाईजात्रा, अर्को दिन रोपाई जात्रा, अर्को दिन बाघ जात्रा श्रीनगर गणेश जात्रा, त्यसपछि टकसार गणेश जात्रा अर्को दिन भीमसेनटोलको भीमसेन जात्रा अर्को दिन जन्माष्टमी, अर्को दिन पाल्पाको सबभन्दा ठूलो जात्रा श्री रणउजीरेश्वरी भगवती जात्रा र त्यसपछि अमरनारायण जात्रा हुन्छ । भीमसेनटोलको मन्दिरको रथ अन्य रथहरु भन्दा ठूलो छ । यसलाई बोक्न पनि पन्ध्र बीस जना चाहिन्छ । सो वर्ष पालो पर्ने गुठियारले आफनो घरबाट भीमसेनको प्रतिमूर्ति घरबाट ल्याइ विधिपूर्वक पूजा गरी रथमा राखिन्छ बोका बलि दिइन्छ । त्यसपछि बल्ल रथ उठाइन्छ र भजन मण्डली सहितको टोलीले नगर परिक्रमा गर्दछन् । प्रतिमूर्ति रथ यात्रा सकिए पछि पुनः गुठीयार कै घर राख्ने चलन छ ।

रथयात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घरघरबाट भगवानलाई पूजा दिने चलन रहेको छ । शित्तलपाटी भीमसेन मन्दिर तीन तलाको रहेको छ । पहिला माथिल्लो छाना पितलको भएतापनि अर्को छाना झिगटीको थियो तर पछि भक्तजनहरुको श्रद्धा र स्थानीय सरकारको पहलमा तल्लो तलामा पनि पित्तलको छाना राखिएको छ । भीमसेनटोलको मन्दिर भुइ तला मात्र छ र यसलाई सुरक्षित तरिकाले बार लगाई राखिएको छ । यस्सको संरक्षण स्थानीय मल्ल, मुनन्कमी, गौंगल परिवारले पालैपालो गरी वर्ष दिनको एकपटक जम्मा हुने, पूजा गर्ने, रथयात्रा गर्ने गर्दै आइरहेका छन् । तर शित्तलपाटीको भीमसेन मन्दिरको कुनै आर्थिक श्रोेत छैन । प्रत्येक वर्ष रथयात्रा सञ्चालन गर्न तानसेन नगरपालिका, तानसेन गुठी काठमाडौंले आर्थिक सहयोग गर्दै आएको छ । नपुग सबै टोलहरुबाट र व्यक्तिगत रुपमा संकलन गर्दै आएको भीमसेन मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष मनोहरलाल श्रेष्ठ बताउँछन् । यस वर्ष मन्दिरको रंगरोगनको लागि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले पनि आर्थिक सहयोग गरको थियो । भिंद्यो वा भीमसेन जे भएतापनि सबैभन्दा ठूलो भगवान प्रतिको आस्था हो । जुन नेवारहरुले गरिरहेका छन् । वर्षको एकपटक आफ्नो गुठको पूजा गर्दा भीमसेनको मन्दिरमा नै गई पूजा गर्ने चलन अद्यापि छँदैछ । पहिला–पहिला यसरी गुठ पूजामा बोका बलि दिने चलन भएता पनि आजभोलि बलि दिइदैन । यसरी आफनो ठाउँको संस्कृति संरक्षण गर्नु आफ्नो परम्परालाई निरन्तरता दिनु आजको आवश्यकता पनि हो । भीमसेन महाराजकी जय । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update