अन्तर्वार्ता

‘सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार’

Shittalpati Reporter

कोरोनाको दोस्रो चरणबाट गुल्मी जिल्ला पनि अछुतो रहन सकेन । यहाँ एक्कासि बिरामीको चाप बढेपछि गुल्मी अस्पताललाई थेगिनसक्नु भार थपियो । अस्पतालले क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको छ । यहाँ जनशक्ति अभावकै बेला पनि कयौं स्वास्थ्यकर्मी संक्रमणको शिकार भए । कोरोना संक्रमितको उपचार र संक्रमण रोकथामका विषयमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उत्तम पच्यासँग गुल्मी संवाददाता रमेश विश्वकर्माले गरेको कुराकानी :

१) विरामीको उपचार कसरी गराइरहनु भएको छ ?

अस्पतालको सीमित भौतिक पूर्वाधार र सीमित जनशक्तिबाट नै कोरोना संक्रमितहरुको उपचार गरिहेका छौं । सीमित भौतिक पूर्वाधारका बाबजुत पनि कोभिड–१९ विरुद्ध लड्न ३१ बेड छुट्टयाएर सेवा गरिरहको छौं जुन अति नै चुनौतीपूर्ण छ । चुनौती रहँदा रहँदै पनि पनि अहिलेसम्म १ सय २८ जना कोभिडका बिरामीलाई सेवा दिन सक्यौं । यो दोश्रो लहरमा साथ साथै आमा सुरक्षा कार्यक्रम, क्षयरोग, एच आइ.भी.का बिरामीले निरन्तर औषधी सेवन गर्न सके र दीर्घरोगी पनि सेवाबाट बञ्चित हुनु परेन । खोप सेवा निरन्तर जारी रह्यो । अरु जनरल सेवा पनि सँगसंगै चुस्त रुपमा सञ्चालन गरिरहेका छौं ।

२) कोरोना नियन्त्रणमा सरकारबाट कस्तो सहयोग रह्यो ?

वास्तवमा तीनै तहका सरकारबाट विश्वास र सद्भाव पायौं । कोरोना महामारी नियन्त्रणमा स्थानीय तहबाट रेसुंगा नगरपालिकाबाट ४ जना स्वास्थ्यकर्मी र गुल्मी दरबार गाउँपालिकाबाट १ जना स्वास्थ्यकर्मीको सहयोग प्राप्त भएको छ । प्रदेश सरकारबाट कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री तथा औषधी आपूर्ति भएको छ । साथै प्रदेश सरकारबाट हाई डिपेन्डेन्सी युनिट(एचडियु) को लागि आवशइक बजेट समेत विनियोजन भएको छ । उक्त सेवा अहिले सञ्चालनमा छ । संघीय सरकारबाट अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड र आइसियु स्थापनाका लागि २ करोड बजेट विनियोजन भएको छ । सो को लागि विद्युतिय बोलपत्रबाट सूचना आह्वान र संझौता पनि भै सकेको छ ।

३) कोरोना नियन्त्रणमा चुनौतीहरु के–के देखा परे ?

सामाग्री आपूर्ति , औषधी अभाव, भौतिक पूर्वाधार र जनशक्ति मुख्य चुनौती हुन् ।

४) स्वास्थ्यकर्मीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

संक्रमितको उपचारमा स्वास्थ्यकर्मीहरु निकै नै सुरुका दिन देखिनै सक्रिय भएर लाग्नु भएको छ । पेशा प्रति स्वास्थ्यकर्मी उत्तरदायी भएर लाग्दा हामी अत्यन्त सन्तुष्ट छौं । उहाँहरु पनि विरामीको सेवा गर्न पाउँदा निकै उत्साहित हुनुहुन्छ । आफुहरु संक्रमित भएर पनि विरामीहरुको सधै उपचारमा उहाँहरु लाग्नु भयो । १३ जना स्वास्थ्यकर्मीहरु कोभिड संक्रमित हुनु भयो । र पनि काम निश्चित आइसोलेसन अवधि पछि काम सुचारु गर्नु भयो । उहाँहरुको उत्साहजनक सेवा देखेर हर्षित छु । आफ्नो नेतृत्व प्रति पनि केही गर्व लाग्छ ।

५) स्वास्थ्य संयन्त्र प्रभावकारी बनाउन कस्तो किसिमको पहल गर्नुभयो ?

हामी कोरोना नियन्त्रणका लागि सबैसँग सहकार्य, समन्वय र सहयोग गर्दै आयौ । कोभिड नियन्त्रणका लागि अस्पताल एक्लैले सम्भव नरहेकाले संघीय, प्रदेश, स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुसँग समन्वय र पहल गर्ने काममा हामी लाग्यौं ।

६) कोरोना नियन्त्रणमा कहाँ–कहाँबाट सहयोग पाउनुभयो ?

पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारबाट आइसियु सञ्चालनका लागि २ करोड विनियोजन भयो । योसँगै सरकारबाट २० थान अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्री सहयोग र थप १ करोड बिनियोजन भयो । अक्सिजन प्लान्टको लागि पत्रकार महासंघ गुल्मीले ५० लाख सहयोगी हातबाट जुटाई हामीलाई सहयोग ग¥यो । पूर्व मन्त्री गोकर्ण विष्टबाट १० लाख सहयोग जुटाउने प्रतिवद्धता आएको छ । उहाँले ३५ अक्सिजन सिलिन्डर उपलब्ध गराउनुभएको छ । गुल्मेली सहयोगी हातहरु, काठमाडौंले ५० सिलिन्डर सहयोग गरेको छ भने थप ३० अक्सिजन सिलिन्डर भर्न पनि सहयोग गरेको छ । गुल्मी उद्योग वाणिज्य संघले अक्सिजन प्लान्टको लागि वेयरहाउस बनाउदै छ । युनाइटेड वल्र्ड स्कुलबाट स्वास्थ्य सामग्री , वोधिसत्व विहारले ४ अक्सिजन कन्सन्ट्रेटर सहित अन्य स्वास्थ्य सामग्री, डाँफे फाउन्डेसन तथा क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन सोसाइटीले ३ अक्सिजन कन्सन्ट्रेटर, गोर्खा वेलफेयर ट्रस्टले ४ अक्सिजन कन्सन्ट्रेटर,अन्य स्वास्थ्य सामग्री, निक साइमन इन्स्टिच्युटबाट ३ अक्सिजन कन्सन्ट्रेटर, नेपाल मेडिकल एसोसियसनबाट २ अक्सिजन कन्सन्ट्रेटर, चौधरी फाउन्डेसनबाट २ अक्सिजन कन्सन्ट्रेटर, गुल्मी औषधी व्यवसायी संघले १ अक्सिजन कन्सन्ट्रेटर, नेविसंघ गुल्मीले १ अक्सिजन कन्सन्ट्रेटर, नेपाली कांग्रेस जिल्ला कार्य समितिबाट ५० अक्सिजन सिलिन्डर भर्न सहयोग, पत्रकार महासंघबाट २० अक्सिजन सिलिन्डर सहयोग र एक सय सिलिन्डर भर्न सहयोग गरेको छ । यस्तै रेनपा–८ वडाध्यक्षबाट २० सिलिन्डर भर्न सहयोग, एकीकृत ग्रामिण समाजबाट स्वास्थ्य सामग्री, रुडेक नेपालबाट स्वास्थ्य सामग्री, गुल्मेली समाज जापानबाट स्वास्थ्य सामग्री, नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, डा. मुक्ति श्रेष्ठ, सिता थापा र सम्झना पाण्डे, महेन्द्र पाण्डेबाट स्वास्थ्य सामग्री, वृन्दा एच श्रेष्ठबाट १ अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको छ ।

७) तपाई प्रमुख भएपछि अस्पतालमा भएका सुधारका कामहरु के–के हुन् ?

सुधारका धेरै कामहरु भएका छन् । भरहेको सेवालाई सुदृढिकरण गरे । विशेष गरी गर्भवती महिलाको डेलिवरी सेवामा, जनरल सर्जरीदेखि दिर्घ रोग सेवा साथै बालरोग सेवादेखि मानसिक रोग सेवामा थप सुदृढिकरण गरिएको छ । अहिले आँखाको पनि विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा सिसिटिभी र इन्टरकम जडान गरिएको छ । क्लासिक एक्सरबाट कम्प्युटेड एक्सरेमा बढोत्तरी भएको छ । प्रयोगशाला आधुनिक बनाइएको छ । स्थानीय तहसंग समन्वय गरी पिसिआर ल्याब पनि सञ्चालन गरिएको छ । रेकर्डिंग रिपोर्टिंगको लागि इएमआर सिस्टम लागू गरिएको छ । निक साइमन्स इन्स्टिच्युटको सहयोगमा बस्तुगत चेकलिष्टले कर्मचारीको मूल्यांकन गर्ने व्यवस्था मिलाइएको छ । ण्भौतिक संरचना थप भएका छन् । बहिरंग सेवा, आवास गृह, शवगृह, गम्भीर बिरामी उपचारको लागि एचडियुको स्थापना गगरिएको छ । म आउनु भन्दा अघि यो अस्पतालमा सवारी साधन थिएन । अहिले हामीसंग एउटा गाडी, एक एम्बुलेन्स र दुई मोटरसाइकल छन् । सामाजिक सेवा एकाइको स्थापना भएको छ जसले गरिब, ज्येष्ठ नागरिक, वेवारिसे, महिला स्वयम्सेविकाहरुलाई विशेष सहुलियत दिन मद्दत गर्दछ ।

८) अस्पतालको थप स्तर वृद्धि गर्ने विषयमा के गर्नु भएको छ ?

आधिकारिक रुपमा यो अस्पताल ५० शैया अस्पताल नै हो । दरबन्दी पनि त्यसै अनुसार छ । तर भौतिक पूर्वाधारको कमी र विशेषज्ञ जनशक्तिको अभाव छ । त्यसलाई परिपूर्ति गर्न सरकारी तवरबाट नै हुनुपर्छ । भौतिक संरचनाको लागि टेन्डर भएर सम्झौता भै सकेको खवर छ । विशेषज्ञ जनशक्ति पनि २ वर्षमा पूर्ति हुन सक्छ तर त्यसको लागि लोकसेवा खुल्नु प¥यो । त्यसो भए मात्र अस्पताललाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ ।

९) स्वास्थ्य संयन्त्रले प्रभावकारी काम गर्न नसकेको गुनासो छ नि ?

गुनासाहरु आउनु स्वाभिव नै हो । तर कस्तो अवस्थामा स्वास्थ्य संयन्त्रण प्रभावकारी हुन नसकेको हो त्यो कुरा बुझ्न जरुरी छ । अकस्मात घटना हुँदा जो पनि आत्तिन्छ र समाधान तुरुन्तै गर्न गाह्रो हुन्छ यो प्राकृतिक नियम पनि हो । यो कुरा बुझ्नु जरुरी हुन्छ । त्यसको लागि पूर्व तयारी योजना आवश्यक हुन्छ । तर अहिलेको कोभिड–१९ पुरै नयाँ भएकाले शुरुवातमा सामना गर्न गाह्रो भएकै हो । यो नयाँ रोग पनि भएकाले उपचार छैन । त्यसैले धेरै मानिसको मृत्यु भएको हो तर सरकारले भ्याक्सिनको व्यवस्था पनि पश्चिमा देशले शुरु गरेको ३–४ महिनामै ग¥यो यो पहललाई राम्रो मान्नु ।

१०) अन्त्यमा :

आ नो भद्रा:क्रतवो यन्तु विश्वतः अर्थात् चारै दिशाबाट कल्याणकारी बिचार आओस् सबैलाई धन्यवाद दिन चाहन्छु,। महामारी विरुद्ध लड्न चारै दिशाबाट सहयोग भयो । एक्लै कसैले काम गर्न सक्दैन,सबैबाट सहयोग, सद्भाव र विश्वास भयो भने कठिन भन्दा कठिन लक्ष्य पूरा गर्न सकिन्छ तर त्यसको लागि हिम्मत, आँट, रचानात्मक सोच, ज्ञान, सीप नभैकन हुँदैन ।

 

 


प्रकाशित मिति: शनिवार, असार १२, २०७८, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्