Shittalpati
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’

निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि काठमाण्डौँ ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ । पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहन श्रेष्ठले जिल्ला/नगरतर्फबाट खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट उनी चुनावी मैदानमा उत्रिएका हुन् । सदस्यका उम्मेदवार श्रेष्ठ डेढदशकदेखि नै जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । होटल व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी अत्यन्त मिलनसार स्वाभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित रहेर शित्तलपाटी डटकमका उप–सम्पादक रामचन्द्र रायमाझीले श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :

१. तपाईको चुनाव जित्ने आधार के हो ?

मेरो र हाम्रो समूहको चुनाव जित्ने मुख्य आधार भनेकै आम व्यवसायी साथीहरूको विश्वास हो । उद्योगी व्यवसायीहरुबाट प्राप्त सहयोग र समर्थन तथा मप्रति गर्नुभएको भरोसाका आधारमा म निर्वाचनमा जित्नेमा विश्वस्त छु । यससँगै हाम्रो सशक्त र सन्तुलित टिम पनि छ, जसले महासंघ र निजी क्षेत्रसामु देखिएका चुनौती समाधान गर्ने क्षमता राख्छ । हाम्रा एजेण्डा, विगतका अनुभव र भविष्यप्रतिको चिन्तनका आधारमा आम व्यवसायी साथीहरूले हाम्रो टिमलाई मतदान गर्नुहुनेछ ।

२. कोभिडले अर्थतन्त्र धरासयी भएको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई सवल बनाउन तपाईका एजेण्डा के छन् ?

कोरोना महामारीका कारण अर्थतन्त्रमा प्रभाव पर्‍यो । त्यसैले कोरोनाले प्रभाव पारेका मुख्य क्षेत्रको आत्मनिर्भर हुनेगरी व्यवसाय विस्तारमा सहजीकरण गर्ने र उद्योग व्यवसायीको हितमा सरकारसँग समन्वय गर्ने रहेको छ । व्यापार व्यवसायको साथमा उद्योगी व्यापारीका समस्या समाधानमा लाग्ने मेरो लक्ष्य हो । लगानी, उत्पादकत्व, रोजगार, आवागमन र उपभोग सबै पक्षमा कोभिड– १९ ले पारेको असरका कारण अर्थतन्त्र शिथिल भएको छ । हाम्रो जिम्मेवारी बन्द भएका उद्योग व्यवसाय पुनः सञ्चालन गराउनमा केन्द्रित हुनेछ । नीतिगत र प्रक्रियागत सुधार गरेर कोभिड– १९ ले बन्द हुने सँघारमा पुगेका उद्योग व्यवसाय बचाउन महासंघले सिर्जनात्मक र निर्णायक पहलकदमी लिनेछ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा लामो समय काम गरेकाले पनि सरकार र नियमनकारी निकायसँग नीतिगत लबिइङ गरेर समग्र आर्थिक विकास, समृद्ध नेपालको विकास गर्न उद्योगी व्यवसायीको विकास हुने नीति आउनुपर्‍यो भन्ने लागेको छ । नीतिकै कारण उद्योग व्यवसाय स्वस्फूर्त रूपमा फस्टाउन सकेका छैनन् । विदेशी लगानी आकर्षित गर्न पहिलो सर्त आन्तरिक लगानीको वातावरण चाहिन्छ । त्यसकारण उद्योगमैत्री मुलुकका रूपमा अगाडि बढाउन सशक्त अवाज उठाउने छु । जिल्ला–नगरका उद्योगी व्यवसायी साथीहरूका पनि धेरै मुद्दा छन् । कतिपय अवस्थामा महासंघले समेट्न सकेको छैन् । ती मुद्दामा काम गर्न पनि मेरो उम्मेदवारी हो ।

३. निर्वाचनमा सहमतिको सम्भावना कति छ ?

सहमतिको प्रयास जारी छ अन्तिमसम्म रहन्छ नै । निर्विरोध हुन्छु भन्ने लागेको छ । हुन सकेन भने स्वस्थ हिसाबले प्रतिस्पर्धामा जाने छु ।

४.महासंघले पाल्पाको ढाका र करुवा उद्योगलाई ध्यान दिन नसकेको सुनिन्छ । तपाई निर्वाचित भएपछि के गर्नु हुन्छ ?

हो पाल्पाको पहिचानका रुपमा रहेको ढाका र करुवा उद्योग जिल्लाबाट विस्थापित हुने अवस्थामा रहेका छन् । सरकारी तवरबाट कुनै पनि पहल हुन नसक्दा यि उद्योगको विस्तार हुन नसकेको पक्कै हो । यसका लागि जिल्लामा उद्योग वाणिज्य संघले उद्योगलाई विविधिकरण गर्नका लागि पहल नगरेको पनि होइन तर निजी क्षेत्र एक्लैले सम्भव रहेन् । म यि उद्योगको विस्तार र प्रवद्र्धनका लागि पनि महासंघमा आएको हुँ । नेतृत्वमा पुगेर महासंघलाई नीति निर्माणदेखि साना मझौला उद्योगका सारथि बनाउने अभियानमा लाग्ने छु । नेपालको अर्थतन्त्र र नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत विकासमा लघु, घरेलु, साना तथा मझौला उद्योग–व्यवसायको समेत ठूलो योगदान छ । रोजगार सिर्जना, उपादकत्व बढाउन योगदान रहे पनि संस्थागत कदर हुन नसकेको साना व्यवसायीको अनुभव छ । अब यस्ता गुनासा सम्बोधन गर्न महासंघभित्र औपचारिक संचरनागत व्यवस्था गर्ने प्रतिवद्धता गर्दछु ।

५.अन्तमा :

म केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कोभिड पछिको अर्थतन्त्र पुनरुत्थान र महासंघको संस्थागत सुदृढीकरणदेखि जिल्ला नगर आर्थिक सबलीकरण र वस्तुगत संघमार्फत सीप विकाससम्मका विषयमा प्रतिवद्ध भएर लाग्ने छु । नीति निर्माण तहमा निजी क्षेत्रको सबल उपस्थितिका लागि धेरै गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update