Shittalpati
विश्व हात धुने र ग्रामीण महिला दिवस

आज एकै दिन विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस परेको छ । दुवै दिवस आफैमा महत्वपूर्ण रहेका छन् । हरेक वर्षको अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस मनाउने गरिन्छ । तर कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले भने त्यो प्रचलन विस्तारै हराएको छ । हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने थाहा हुँदाहुँदै पनि दिवस मनाउन छाडिएको हो । यो अत्यन्त दुःखको कुरा हो । सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हात धुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए पनि नेपालमा भने बजेटकै अभाव देखाउदै यो दिवस मनाउन छोडिएको छ । हिजोआज भने विश्वभर फैलिएको कोरोना महामारीले विकराल रुप लिदै गएको छ । यस अवस्थामा हात सफा राख्नुको विकल्प पनि छैन । मानव जगत संक्रमणबाट बच्न हात सफा गर्ने, अनुहार छोप्न मास्कको सहारा लिनुपर्ने अवस्थामा आइपुगेकाले पनि हात धुने दिवसको महत्व बढेर गएको छ  ।

विश्वभरी नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौं मानिस मृत्युको शिकार बन्नु परेको अवस्था जगजाहेर नै छ । तसर्थ खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसो गर्न सके मात्र संक्रमणबाट बच्न सक्ने मात्र होइन दिवसले नै सार्थकता पाउन सक्छ । नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्‍याउने पवित्र भावनाले यो दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्यूनिकरणमा टेवा पुर्‍याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका लागि ग्रामीण महिलाहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर नेपाल जस्ता विकासोन्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच भने पुग्न सकेको छैन । ग्रामीण महिलाहरुलाई सशक्तिकरणका माध्यमबाट सक्षम नागरिकका रुपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने कुरामा दुई मत छैन ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update