Shittalpati
नेपालमै तिलोत्तमा पहिलो शून्य पोलिथिन घोषित

रासस
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गरिएको छ । घोषणा कार्यक्रम तथा कोरोना भाइरसको महामारीविरुद्ध सचेतना अभियानमा नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख घोषणा गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

उनले अब संघ, प्रदेश र स्थानीय तह सबैले सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताए । ‘पृथ्वी बचाउनु भनेको आफू बाँच्नु हो, पृथ्वीमा भएका जल, जमीन, जङ्गल जोगाउन जरुरी छ’, उनले भने । पोलिथिनजन्य वस्तुको प्रयोगले भविष्यमा सन्ततिको जीवन नारकीय बन्ने भएकाले समयमै सचेत बनेर नगर सफा राख्न उनले आग्रह गरे । कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले तिलोत्तमाबाट शुरु भएको अभियान देशभरी चलाउनुपर्ने बताए । उनले भने ‘यो नगरमात्र सफा भएर हँुदैन, अभियानलाई सबै स्थानीय तह, प्रदेश र देशव्यापी बनाउनुपर्छ ।’ प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान र टोल सफा देखिएको र यसले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने बताए । जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, प्रा भैया खनाल र क्रिमसन अस्पतालका डा. कृष्णचन्द्र गोदारले यसको निरन्तरताका लागि नगरवासी क्रियाशील रहनुपर्ने बताए । नगरवासीका घरआँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जङ्गल, सडक–बाटो, सार्वजनिकस्थलबाट झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहर संकलन गरी व्यवस्थापन गरिएपछि नगरलाई शून्य पोलिथिन घोषणा गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । शून्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको बताउँदै उनले नगरका सार्वजनिक स्थानमा कम्तीमा एक हजार डष्टबिन राख्ने योजना रहेको जानकारी दिए । बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत सो विषयलाई समेटिएको नगरप्रमुख घिमिरेले जानकारी गराए । यहाँका विद्यालय तथा टोलटोलमा ‘माई पकेट, माई फष्ट डष्टबिन’ अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको र सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ । जथाभावी फोहर फयाँक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानून निर्माण गरिएको उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।नगरलाई शून्य पोलिथिन घोषणा गर्न सिम नेपालसँगको सहकार्यमा आठ महिनादेखि शून्य पोलिथिन अभियान चलाइएको थियो । शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा धेरै सफा देखिएका छन् । शून्य पोलिथिन अभियानको प्रभावको सन्दर्भमा वातावरणविद्, सरकारी अधिकारी तथा सञ्चारकर्मीले अनुगमन समेत गरेका थिए ।

‘ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाइ अभियान सञ्चालन भइरहँदा पोलिथिनजन्य फोहरले मानव स्वास्थ्य, शहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्य मनन गरी नगरपालिकाले सिम नेपालसँगको सहकार्यमा शून्य पोलिथिन अभियान चलाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलोपटक तिलोत्तमाको १२६ वर्ग्किलोमिटर क्षेत्रमा वर्षौँदेखि थुप्रिएको पोलिथिन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष वातावरणविद्् निपेश ढकालले बताए । अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिन तिलोत्तमावासीलाई आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update