Shittalpati
रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो

रुकुम, रुकुमपूर्वको भूमे गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकामा भएका छट्टुाछट्टै बस दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ । विहिबार भएका दुर्घटनामा भूमे गाउँपालिकामा ५ जना र भीमफेदी गाउँपालिकामा ७ जनाको ज्यान गएको हो ।

रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग १ख ९१०९ नम्बरको बस विहिबार दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए ।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा विहीबार दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । –रासस

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update