Shittalpati
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका १, हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

दुर्घटनामा न्यौपाने सहित रामपुर नगरपालिका १० सिकोडाँडाका २५ वर्षीय उमाकान्त चापागाई घाइते भएका थिए । घाइते चापागाईको अनुहार र हातमा चोट लागेको र अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । उनी मोटरसाईकल पछाडी सवार रहेका थिए । मोटरसाईकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update