Shittalpati
साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम

कृष्ण दर्नाल (रासस)
पाल्पा, पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । गत आइतबार पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको बस दुर्घटनामा पनि साँघुरो सडक र चालकको लापरबाहीलाई नै प्रमुख कारण मानिएको छ । शव तथा मलामी बोकेको सो बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । सो बस दुर्घटना हुनुमा साँघुरो सडक र चालकको लापरबाही नै प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार तानसेन–हार्थोक–रिडी सडक अन्तर्गत लघुवा पक्की सडकमा मोड नपुग्ने घुम्तीमा चालकको लापरबाहीका कारण दुर्घटना भएको थियो । तीव्र गतिमा बस गुडिएकाले घुम्ती कटाउन नसक्दा दुर्घटना भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । ‘उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ’, प्रहरी नायब उपरीक्षक त्वातीले भने, ‘अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ ।’ बसमा सवार मलामीहरुले चालकको लापरवाहीकै कारण दुर्घटना भएको बताइएको छ । बसमा यात्रा गरेदेखि दुर्घटनाका लक्षणहरु चालकले देखाएको थियो । चालकको लापरवाही देखेर आफू होसियार भएको हो । बस दुर्घटना आफू बाँचियो र नयाँ जीवन पाएको बसमा सवारी मलामी शिवप्रसाद भुसालले बताए । उनका बुटबलबाट सोही गाडीमा रिडी मलामी हिँडेका थिए । सडक विस्तार गर्दा मापदण्ड विपरीत निर्माण गरिएकाले दुर्घटना रोकिएको छैन । हार्थोक–रिडी सडक निकै साँगुरो, ओरालो, घुम्ती र चिप्लो रहेकै कारण पटक पटक दुर्घटना हुने गरेको स्थानीयवासीको भनाइ छ ।

विगतका वर्षमा यही स्थानबाट पाँच पटक सडक सवारी दुर्घटनाको स्थानीय बासिन्दा सुरेश घर्तीले बताए । आफूहरुले पटक पटक सरोकारवाला निकायलाई सडक फराकिलो बनाउन अनुरोध गरिए पनि सो काम नहुँदा मानवीय क्षति भएको स्थानीयवासीको गुनासो छ । हार्थोक–रिडी सडक अन्तर्गत अधिकांश सडक साँगुरा तथा ओरालो सकिएसँगै घुम्ती सुरु हुन्छ । तीव्र गतिमा आएका सवारीसाधन घुम्तीमा बढी दुर्घटना भएका छन् । यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय पाल्पाले घुम्ती कटानमा चासो दिएको छैन । स्थानीयवासी विश्व कार्कीले सडकका घुम्ती कटान गरी फराकिलो बनाउन आवश्यक देखिएको बताए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको प्रहरी नायब उपरीक्षक त्वातीको भनाइ छ । कच्ची रुपमा विस्तार भएका अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । पहाड, अक्करे भिर हुँदै विस्तार भएका अधिकांश सडक एकतर्फी मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकांश ग्रामीण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । दोहोरो वारपार गर्नसमेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट खर्च गरेको भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ । सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको स्थानीयवासीको भनाइ छ । ‘सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा डोजर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ’, स्थानीयवासी विश्व कार्कीले भने । स्थानीय, प्रदेश र संघीय सरकारमार्फत समेत सडक स्तरोन्नतिमा जिल्लामा वर्षेनि करोडौँ रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नाली, पर्खाल लगायतका पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्नुपर्ने भए पनि अधिकांश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेकाले सडकको अवस्थामा सुधार आउन नसकेको गुनासो बढिरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update