Shittalpati
डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

भैरहवा, स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उनका १३ वर्षीय छोरा सन्दीप खनाल दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गर्दागर्दै मृत्यु भयो । दुर्घटनाको मुख्य कारण ट्रकको तीव्रगति भएको ट्राफिक प्रहरीले निष्कर्ष निकाल्यो । यस्ता घटना रुपन्देहीमा दिनहुँजसो हुने गरेका छन् । जिल्लामा यसरी दुर्घटनाबाट मृत्यु हुनेको संख्या डरलाग्दो देखिन्छ ।

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको चौ वर्षीय सवारी दुर्घटनाको रेर्कडअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्ममा १ हजार १ सय ९४ सवारी दुर्घटनामा ३ सय ९० जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ६ सय ४९ र घाइते ४ सय १० जना भएका छन् । आव २०७८/७९ को मंसिरसम्म ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ४५ र घाइते २३ छन् । यसकारण रुपन्देहीमा दुर्घटनाले मानिसको मृत्यु, गम्भीर घाइते र घाइते हुने संख्या हेर्दा डरलाग्दो देखिन्छ । यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि कार, जीप र ट्याक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । आव २०७४/७५ देखि २०७७/७८ सम्म चालकको लापरवाहीबाट ५ सय २१ वटा दुर्घटना, यात्रुको गल्तीबाट १ सय ४९ र तीव्रगतिबाट १ सय ५७ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ । ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको बताए । वार्षिक रूपमा हजारौँको संख्यामा सवारी नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरी सवारी चलाउनु, फुटपाथको अधिकरणजस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक थापाले भने । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरि ‘चालकसँग ट्राफिक प्रहरी’ जस्ता चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले चालकले ट्राफिक नियम पालना नगर्दा डरलाग्दा सडक दुर्घटना हुने गरेको बताए ।

सडक दुर्घटनाका लागि रुपन्देहीमा ट्राफिक प्रहरी स्कूल कलेज, क्लब र यात्रुसँग प्रत्यक्ष जोडिएर जनचेतनाका कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनले भने, ‘सडक दुर्घटना न्यूनिकरणका लागि हाम्रो अभियान चालकदेखि यात्रुसँग हुन्छ ।’ रुपन्देहीमा पछिल्लो समय ट्राफिकले बढी भीडभाड हुने स्थानमा ट्राफिक लाइट जडान तथा अन्तक्र्रिया र चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । असुरक्षित सडक संरचना, व्यवस्थित सवारी नियमन मापदण्डको अभाव, चालकको अयोग्यता, सवारी नियमको अज्ञानताका कारणले धेरै सवारी दुर्घटना हुने गरेको सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको २०७७ को प्रतिवेदनमा उल्लेख छ । सडक दुर्घटना हुनुमा सवारी चालक र पैदलयात्री नै जिम्मेवार देखिने गरेको तथ्य भेटिन्छ । यसको न्यूनीकरणका लागि चालक र यात्रुलाई जिम्मेवारी बनाउनु पर्दछ । –रासस

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update