Shittalpati
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला

पाल्पा, पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहीबार बगनासकाली गाउँपालिका ७ खानीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन् । खानीगाउँ झाक्रीस्थानमा बस्ने ३५ वर्षीय दीपक भट्टराई मृत अवस्थामा फेला परेका हुन् ।

घरदेखि ५ सय मिटर गोरेटोबाटोबाट डेढ मिटर तल बारीको कुनामा भट्टराई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । यस्तै शुक्रबार तानसेन नगरपालिका २ फुलबारी स्थित रेडक्रस कार्यालय अगाडि ३२ वर्षीय युवक मृत फेला परेका छन् । सोही ठाउँमा १ तले जस्ताले छाएको घरमा बस्दै आएका बागलुङ ढोरपाटन नगरपालिका–७, बोबाङका बसन्त विक रहेको प्रहरीले जनाएको छ । स्थानीयले विक मृत अवस्थामा रहेको प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update