Shittalpati
पर्वतमा पहिरोमा परी दशको मृत्यु

पर्वत, पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।

कुस्मा नगरपालिका–३ दुर्लुग घोगेनीमा खसेको पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उनकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरु १६ वर्षीया बिमला र ११ वर्षीया विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ । साथै कुश्मा–११ पकुवा ताल्चेमा पनि पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ । मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ ।

यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त घटनाको खबरले आफू मर्माहत भएको बताउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गरी उनले संकटको यस घडीमा पहिरोमा परिवार गुमाएका तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना एवं पहिराको जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न तीनवटै तहका सरकार तथा सम्बद्ध अधिकारीहरूलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update