Shittalpati
पहिरो हटाउन सिद्धार्थ राजमार्ग बन्द गरिने

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–बुटवल सडक खण्डको डुम्रेमा खसेको पहिरो हटाउन सिद्धार्थ राजमार्ग बन्द गरिने भएको छ । आज साँझ ७ बजेदेखि भोली बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि उक्त राजमार्ग अन्तर्गतको सडक बन्द गरिने भएको हो ।

सडक डिभिजन कार्यालयको अनुरोधमा विहिबार जिल्ला प्रशासन कार्यालयले डुम्रेमा खसेको पहिरो हटाउन बाटो बन्द गर्नु परेको सूचना जारी गरेको छ । प्रशासनले बिहीबार साँझादेखि बिहान ६ बजेसम्म र शुक्रबार साँझादेखि शनिबार बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन नगर्न सबैलाई अनुरोध गरेको छ ।

सो समयमा एम्बुलेन्सबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ ।

उक्त क्षेत्रको पहिरो नहटाउदा थप क्षति हुन सक्ने भएकाले तत्काल पहिरो हटाउन बाटो बन्द गर्नुपरेको जनाइएको छ । अहिले केही भाग पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि दुईतर्फी सञ्चालनमा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update