Shittalpati
तम्घास–सिमलटारी सडक भासियो

हाम्रा संवाददाता

गुल्मी, 

सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ हुनुको साथै नजिकैका घरहरु समेत जोखिमका परेका छन् । सडक छेउको ग्याभिङ्गवाल सहित सडक भत्किएर पहिरो गएपछि सडक छेउका दुई वटा घर जोखिममा परेका हुन् । सडकसँगै नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका–४ का वडा अध्यक्ष विजय मरासिनीले बताए । जोखिममा परेका घरमा मानिसहरु बस्दै आए पनि तत्काल अन्यत्र सार्नुको विल्प नरहेको वडाअध्यक्ष मरासिनीको भनाई छ । पहिरोले सडक भत्किएपछि सिङ्गो भिरनै देखिएकाले डरलाग्दो दृश्य देखिएको छ । पहिरोले सडकको अन्य भाग समेत भत्किन सक्ने भएकाले नजिकै रहेका घरका मानिसहरु समेत त्रसित बनेका छन् ।

यहाँ पहिरोले कालोपत्रे सडकको आधा भन्दा धेरै भाग भत्किएको हो । अहिले एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा छन् । सडकको छेउबाट मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चलाउन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक मर्मत गर्न लामो समय लाग्ने भएकाले अहिलेलाई भासिएको ठाउँमा बार लगाएर कुनापट्टिबाट एकतर्फी सवावरीसाधन सुचारु गरिएको छ ।

सडक भासिएपछि यस सडक खण्ड हुँदै आवतजावत गर्ने सवारीसाधनले पालो कुरेर बाटो काट्नुपर्ने भएको छ । सवारी चाप हुँदा केही बेर जामसमेत हुने गरेको चालकहरुको गुनासो छ । उक्त स्थान पहिरोको समेत उच्च जोखिममा रहेकाले वर्षात नरोकिए सडक अझै भत्किन सक्ने स्थानीयहरुको भनाई छ । तलपट्टि भीर रहेकाले पनि उक्त खण्ड वर्षायाममा जोखिमपूर्ण रहेको बताइएको छ । सडकको दीर्घकालीन रुपमा मर्मत नगर्ने हो भने जुनसुकै बेला जोखिम निम्ति सक्ने भएकाले निर्माण पक्षले तत्काल मर्मतका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ । विगतका वर्षमा भन्दा यस वर्ष वर्षा धेरै भएकाले पनि मदन भण्डारी राजमार्ग सडक खण्डमा बढी समस्या आउन थालेको छ । यहाँका सडकमा हरेक दिनजसो पहिरो खस्न थालेपछि पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडकको २८ किलोमिटर सडक कालोपत्रे रहेको छ । सडकका अन्य स्थानमा पनि पहिरोले दैनिक जसो दुख दिने गरेको यहाँ सञ्चालन हुने सवारी चालकहरु बताउँछन् । यो सडक हुँदै गुल्मी जिल्ला क्षेत्रनम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङसम्म सवारी सञ्चालन हुने गर्दछन् ।

अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update