Shittalpati
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति

रामचन्द्र रायमाझी

पाल्पा, निरन्तर परेको वर्षाका कारण पाल्पा, गुल्मी, स्याङ्जाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेको छ । पहिरोले दुई घर पुरेको छ भने चार घर जोखिममा छन् । पहिरोले राजमार्गको तानसेन नगरपालिका–८ डुम्रे बजार नजिकै रहेको देवबहादुर सारुको दुई तले घर पूर्णरुपमा पुरेको हो । दिउँसोमा भएकाले मानवीय क्षति भने भएको छैन । पहिरोले राजमार्गदेखि तल्लो भागमा रहेका एकबहादुर सारु, खड्ग बहादुर केसी, विष्णु खाम्चा लगायतको घरमासमेत क्षति पुगेको छ ।

राजमार्गदेखि ५ सयमिटर माथिबाट पहिरो खसेको हो । पहिरो आइतबार खुलाउन नसकिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । पहिरो ठूलो भएको र माटो फाल्ने ठाउँ नजिक नभएकाले पहिरो हटाउन समस्या रहेको छ । सडक अवरुद्ध भएकाले सयौं सवारी साधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् । सिद्धबाबा क्षेत्र, राम्दी क्षेत्रमासमेत पहिरो खसेको र एकतर्फी खुलेर सवारी साधन सञ्चालन आएपनि डुम्रेको तल्लो र माथिल्लो भागमा सवारी साधनको लाइन देखिएको छ । यस्तै अविरल वर्षाका कारण तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । शनिबार राती परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो । दर्जीको १ तले ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडीको गारो अचानक भत्किन गई बालिकालाई च्यापेको थियो । गारोले च्यापिएर घाइते भएकी उनको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

उता पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको छ । पहिरोले गल्याङ नगरपालिका–१ राम्दीमा रहेका ३ घरहरु पुरिएको छ । आइतबार दिउँसो पहिरो खसेको हो । उक्त घरमा होटल सञ्चालन हुँदै आएको थियो । पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार गरिएको गल्याङ प्रहरी चौकीले जनाएको छ । उद्धार गरिएका मध्य एक जनाको मृत्यु भएको छ । यात्राका क्रममा होटलमा नास्ता खान बसेका उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउँदा पशुचौपाया पुरेको छ ।

जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले पशुचौपायाहरुमा क्षति पुर्‍याएको हो । पहिरोले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने भएको छैन । घरपरिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । यस्तै मुसिकोट नगरपालिका–८ ठूलोखर्क बस्ने नरबहादुर पौडेलको गोठ पहिरोले भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसैगरी गुल्मीदरबार गाउँपालिका–३ फुर्सेका कमलबहादुर कँुवरको दुईतले टिनले छाएको गोठ भत्किँदा चारवटा बाख्रा मरेका छन् । मुसिकोट नगरपालिका–१ पौदीअमराईमा पहिरोले हीराबहादुर रानाको घर भत्किएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update