Shittalpati
पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध

पाल्पा, निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।

पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा, तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, बगनासकाली गाउँपालिका–४ शेरा, तिनाउ गाउँपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै तानसेन–११ सम्मोबारीमा पहिरो जाँदा तानसेन–रिडी सडकखण्ड र रम्भा–३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै तानसेन राम्दी सडक, हार्थोक छहरा तिनगिरे सडकखण्ड, आर्यभञ्ज्याङ्ग रामपुर सडक, कालीगण्डकी करिडोरको राम्दी रामपुर सडकखण्ड, रामपुर पूर्वी नवलपरासी सडकखण्डको ठाउँ–ठाउँमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।

सिदार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार रातिदेखि नै अवरुद्ध छ । यसैगरी तानसेन पोखरा सडकखण्डको बगनासकाली गाउँपालिका ३ धैरेनी, ४ खानीछापको सेरा, रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरो खस्दा शनिबार रातिदेखि नै सडक अवरुद्ध भएको छ ।

तानसेन रिडी सडकअन्र्तगत तानसेन नगरपालिका ११ सम्मोवारी क्षेत्रमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी करिडोर राम्दी रामपुर क्षेत्रमा रम्भा गाउँपालिका १ हुगी, र रामपुर नगरपालिका १० गेझामा पहिरो खसेको छ । यस्तै हार्थोक छहरा तिनगिरे सडकखण्डको बतासे क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सरदमुकाम जोड्ने ग्रामिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । वर्षा रोकिएपछि पहिरो क्षेत्रमा डोजर परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update