Shittalpati
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध

पाल्पा, बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण पहिरो जाँदा, पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको हो ।

पाल्पाको रम्भा गाउँपालिका–३ सितापहाडमा रातदेखि परेको अवरिल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा विहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । यस्तै गुल्मीको रुरु गाउँपालिका–२ पोखरीबगरमा पनि पहिरो खस्दा रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पानी परिरहेकाले समस्या उत्पन्न भएको जनाईएको छ ।

रुपन्देही, नवलपरासी, अर्घाखाँची र बर्दियामा पनि सडक अवरुद्ध

उता रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दियाका विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएका छन् अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पहिरो खसेका कारण अवरुद्व भएको छ ।यस्तै नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका– १० लण्डनबृजस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका–१२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।यस्तै रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिका– १२ बसेरीस्थित गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।यस्तै यस्तै बर्दियाको बांसगढी नगरपालिका–१ बबइस्थित कोहलपुर–सुर्खेत राजमार्ग सडक खण्ड पनि अवरुद्ध भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update