Shittalpati
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते

पाल्पा, जिल्लाको तानसेन नगरपालिका ७ सालघारी स्थित प्रभास सराई भित्री सडक खण्डमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विंगर आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक सहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरुमा चालक तानसेन नगरपालिका ६ का ३३ वर्षीय सोम राना, तानसेन ७ कुन्सरेका २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँका २८ वर्षीय विक्रम गैरे, ३२ वर्षीय हुमबहादुर सारु, ४२ वर्षीय प्रेमबहादुर बकवाल, ३३ वर्षीय विक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोम न्यौपाने, २८ वर्षीय योगेश सारु, ३३ वर्षीय पवन कुमार गाहा र ३५ वर्षीय सन्तोष गैरे रहेका छन् । घाइते मध्ये नरबहादुर कुमालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाडी सडक देखि १५ मिटर तल खसेको जनाइएको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार गाडी के कति कारण दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update