Shittalpati
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु, सात घाइते (हेर्नुहोस् विवरण सहित)

गुल्मी, गुल्मीमा जिप दुर्घटना भएको छ । बुधबार विहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्वरको जिप मुसिकोट नगरपालिका– ४ भङ्ल्याङमा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको वडाध्यक्ष ओमबहादुर केसीले जानकारी दिए । मृत्यु हुनेहरुमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा, वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुङ्गा नगरपालिका –२ बाख्रे छेडा बस्ने ६२ वर्षीया सुनिता बिक रहेका छन् । मृतक तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिपमा १० जना सवार रहेको बुझिएको छ । दुर्घटनामा अन्य सात जना भने घाइते रहेका छन् । घाइते हुनेहरुमाा चन्द्रकोट गाउँपालिका ७ दमुकी २३ वर्षीया मुना भण्डारी,रेसुङ्गा नगरपालिका –२ की २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका–७ रूपाकोटका ३३ वर्षीय गोकुल भण्डारी, चन्द्रकोट ६ हरेवाकी २० वर्षीया बिनिता परियार, चालक चन्द्रकोट ८ मजुवाका ४५ वर्षीय बमबहादुर बिक, चन्द्रकोट– ४ शान्तिपुरका ३९ वर्षीय गगन क्षेत्री, चन्द्रकोट –८ मजुवाका ४५ वर्षीय सुनिल बिक रहेका छन् । घाइते मध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्यको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । के कति कारणले दुर्घटना भएको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सच्याइएको: यस अघिको समाचारमा वडाध्यक्ष ओमबहादुर केसीले चार जनाको घटनास्थलमा मृत्यु भएको भनि दिएको जानकारीमा तीन जना हुनुपर्नेमा सच्याइएको छ ।

– सम्पादक

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update