Shittalpati
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

पाल्पा, पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, तल्लो र माथिल्लो सिद्धबाबाको बीचमा ढुंगासहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको सडक विहीबार दिउँसोबाट एकतर्फी खुलेको हो ।

बुधबार रातिदेखि अवरुद्ध भएको सडक पहिरो पन्छाएर एकतर्फी खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । बिहानैदेखि दुई वटा एक्स्काभेटर लगाएर पहिरो पन्छाएको थियो ।

रातिको समय भएकाले बुधबार पहिरो पन्छाउन सकिएको थिएन । ठूला–ठूला ढुंगा खसेकाले राजमार्ग खुलाउन केही समय ढिला भएको प्रहरीले जनाएको छ । राजमार्ग सुरु भएपछि बुधबारदेखि रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि बुटवलबाट आएका र जाने खाद्यान्न बोकेकाका र निजी सयौं सवारी साधन सडकमै रोकिएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update