Shittalpati
सडक माथिबाट ढुङ्गा खस्ने डर,  त्रासै त्रासमा यात्रा

हाम्रा संवाददाता

गुल्मी, गुल्मीको मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सडकमा अहिले पनि ढुक्क भएर यात्रा गर्ने स्थिती छैन । पहाडको भिरालो बाटो । त्यस माथि पहिरोका कारण सडक माथि अड्किएका ठूला–ठूला ढुंगा । गाडीमा यात्रा गर्दै लाग्छ गन्तव्यमा पुगिन्छ कि पुगिदैन । साँघुरो, भिरालो र खाल्डाखुल्डी परेको सडक । गाडीको झ्यालबाट हेर्दा आङ नै सिरिङ हुन्छ । पैदल यात्रा गर्दा समेत जोखिम मोल्नुपर्ने अवस्था छ । मदनभण्डारी राजमार्ग अन्तर्गत रेसुङ्गा नगरपालिकाको–४ को तम्घास सिमलटारी सडकको रागेढुङ्गामा जीन्दगी नै दाउमा राखेर यात्रा गर्नुपर्छ । अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्न जाँदा ठूला ढुंगाहरु अड्किएपछि यहाँ यात्रा गर्न जोखिम बनेको हो । कहाँ कति बेला ढुङ्गा खस्ने हो कुनै ठेगान नै छैन । यस्तो अवस्थामा यहाँ सवारी साधनमा यात्रा गर्ने र पैदल यात्रुहरुले त्रासै त्रासमा यात्रा गर्नु परेको छ । केही दिनदेखि परिरहेको अविर वर्षाले ति ढुंगाहरु जति बेला पनि खस्न सक्ने देखिन्छ । सडक माथि खड्किएका ति ढुंगा हेरेरै यहाँ यात्रुहरु आवत जावत गर्ने गर्द छन् ।

ढुंगाहरु झर्ने अवस्थामा रहेकाले माथि हेरेरै यात्रा गर्नु परेको यात्रुहरुको भनाई छ । कामले हिड्नु पर्‍यो, कहाँ कति बेला ढुंगा खस्छन् थाहाँ हुँदैन, ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको यात्रुहरु बताउँछन् । दैनिक जसो पानी परिरहेकाले पहिरो खस्ने हो भन्ने डरले पहिरो हेरेर गाडी चलाउने र पैदल यात्रा गर्नेहरु हिड्ने गरेको दुर्गा भण्डारीले बताए । दिउँसको समयमा त हेरेर हिड्ने गरेता पनि रातको समयमा भने हिड्न समस्या हुने गरेको यहाँ सञ्चालन हुने सवारी चालकहरुको भनाई छ ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने अतिव्यस्त सडकमा केहि भाग पहिरोले खसेको छ भने केहि ठूला ढुंगा सहित खस्ने अवस्थामा रहेका छन् । सडक जोखिम पूर्ण अवस्थामा रहेकाले सवारी साधन र पैदल यात्रुले सास्ती खेप्नु परेको छ । अघिल्लो वर्ष पनि यही समयमा ति ठूला ढुंगाहरु जोखिम बनेका थिए । नेपाली सेनाले हटाउने प्रयास गरे पनि ठूला ढुंगाहरु भने हटाउन सकेको थिएन । जोखिमपूर्ण क्षेत्रमा ठूलो क्षती हुन नदिन तत्कालै पहिरो हटाउनु पर्नेमा स्थानीयको माग छ । रैदी, रागेढुङ्गा मन्दिर नजिकै केहि वर्ष पहिले देखि नै ठूला ढुंगाहरुका कारण सडक जोखिमपूर्ण बन्ने गरेको छ । वर्षाको बेला ढुंगा र पहिरो खस्न सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले सबैलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update