Shittalpati
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी

पाल्पा, सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो ।

गत माघ २० गते डिभिजन सडक कार्यालयले सूचना निकालेर व्यक्ति आफैलाई सडकका संरचना हटाउन एक साताको सूचना प्रकाशित गरेको थियो । तर एक सातापछि पनि कुनै पनि व्यक्तिले सडक मिचेर बनाएका संरचना नहटाएपछि सडक कार्यालय आफैँ यस्ता संरचना हटाउने तयारीमा लागेको छ । सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउनका लागि सडक कार्यालयले रेखानको कार्य समेत गरिसकेको जनाएको छ । सडकले दिएको एक हप्ताको समय सिमा पनि सकिए पछि पुनः फागुन १३ गते अर्को सूचना निकालेर व्यक्ति आफैलाई संरचना हटाउन भनेको छ । यदि अटेर गरे उक्त संरचना सडक कार्यालयले आफै हटाउने बताइएको छ । कार्यालयले तत्काल सडक सिमा खाली गर्न आग्रह गरेको छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ अनुसार कुनैपनि व्यक्तिले बनाएका संरचना हटाउन लाग्ने शुल्क सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने सूचनामा उल्लेख गरिएको छ । सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्म करिब ७ सय घर तथा टहरा हटाउनका लागि सडक डिभिजन कार्यालयले अन्तिम तयारी गरेको छ ।

डिभिजन सडक कार्यालयले सडकको दाँया र बाँया २५÷२५ मिटरभित्र परेका घर, संरचना, टहरा, मठमन्दिरमा चिन्ह लगाइसकेको छ । अब उक्त चिन्ह लगाएका संरचना हटाउने अन्तिम तयारी भइरहेको कार्यालयले जनाएको छ । स्थानीय बासिन्दाले भने डिभिजन कार्यालयको उक्त निर्णय र प्रक्रियाको विरोध गर्दै आएका छन् । सडकका खाल्डाखुल्डी समेत पुर्न नसक्ने कार्यालयले अहिले आवश्यकताभन्दा बढी बाटो फराकिलो बनाउने बाहनामा आफुहरुलाई उठिबास लगाउन खोजेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update