Shittalpati
विदेशमा थप १३ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

उद्धार जारी

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्दारको कामले तीव्रता पाएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २ सय ९३ नेपालीको उद्दार गरिएको छ । अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । -रासस

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update