Shittalpati
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित

इमान सिं राना
पाल्पा(रामपुर),जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहद्वारा तोडफोड भएको हो । शालिकको टाउकोमा रहेका फेटा, बायाँ कान र गालामा क्षति भएको घटना स्थानीयले विहिबार साँझ थाहा पाए पनि औपचारिक रुपमा भने शुक्रबार मात्र सार्वजनिक भएको थियो । पार्क भएर घाँस काट्न गएका स्थानीयहरुले शालिक तोडिएको अवस्थामा विहिबार साँझ भेटेका थिए । लखन थापा शालिक संरक्षण समितिका सचिव देवबहादुर ठाडाले स्थानीयले विहिबार साँझ थाहा पाए पनि समितिले शुक्रबार विहान खबर पाउने वित्तिकै प्रहरीलाई खबर गरेको बताए । उनले घटना बुधबार राति भएको हुन सक्ने बताए । तोडफोडबाट शालिकको टाउकोमा रहेका फेटाको केही भाग, बायाँ कानको केही भाग फुटेको र गालामा समेत क्षति पुगेको बताए ।

राणा शासन विरुद्ध आवाज उठाउँदा शहीद भएका थापा मगरको सम्मान र इतिहासको संरक्षण गर्न एकिकृत मगर उत्थान समाज रामपुर, पाल्पाले शालिक निर्माण गरी २०७१ बैशाख १ गते अनावरण गरेको थियो । शालिकमा केही समय अघि पनि अज्ञात समुहले तोडफोड गरेको थियो । शालिक निर्माणसंगै शान्तिदिप उद्यान पार्कमा निर्माण गरिएको प्रवेशद्वारमा पनि ढुङ्गा प्रहार भएको थियो । लखन थापा शालिक संरक्षण समितिका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले कुनै जातिय विशेष मात्र नभई सिङ्गो राष्ट्रको गहना माथि पटक–पटक तोडफोड हुनु दुखद् भएको बताए । मश्राङ्गीले भने, ‘एक पटक मात्र होईन । पार्कमा पटक पटक यस्ता प्रयासहरु हुँदै आएको छ । इतिहास मेटाउनका लागि भएका यस्ता हर्कतहरुले थप चिन्तित बनाएको छ ।’ घटनाको पश्चात प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर थापाले तोडफोड पटक–पटक दोहोरिएको भन्दै यस घटनाको सुक्ष्मरुपमा अध्ययन गरिने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update