Shittalpati
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौं, सरकारले विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको एक हो । कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाइएको बैठकमा जानकारी गराइएको छ ।

जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो । नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पु‍र्‍याएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो । लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहने छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update